सिके राउत पुनः पक्राउ


रौतहट, (नेस)
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार रौतहट प्रहरीले हिरासतमा लिएको छ।

जिल्ला अदालत रूपन्देहीले उनलाई साधारण तारेखमा रिहाइ गरेपछि प्रहरीले रौतहट ल्याएको हो। उनको मुद्दा जिल्ला अदालत गौरमासमेत चलिरहेको छ। जिल्ला अदालत रौतहटमा राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधको मुद्दा विचाराधीन रहेकाले रौतहट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पहिलेदेखि नै जिल्ला अदालत गौरमा मुद्दा दायर भएकाले रूपन्देहीबाट ओसार गरेर रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कृष्ण भण्डारीले बताए। राउतलाई बुधबार नै जिल्ला अदालत गौरमा पेश गरिएको भए पनि समय अभावका कारण उनको बयान हुन सकेन।

यसअघि सोही मुद्दामा पक्राउ परेका रामकेश गुप्तालाई २५ हजार र अन्य ५ जनालाई १०⁄१० हजार धरौटीमा जिल्ला अदालत गौरले तारिखमा राखेको थियो।