जापानमा नेपाली परिकार बेचेको पैसाले अक्षयकोष


दुर्गाप्रसाद शर्मा,पर्वत ।

जापानमा नेपाली परिकारहरु विक्रि गरेको रकम संकलन गरी पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित एक विद्यालयकी पुर्व विद्यार्थीले ७ लाख रकमको अक्षयकोष स्थापना गरेकी छिन् ।

शिवालय माविमा अध्ययनरत विद्यार्थीले भुकम्पपिडित, गरिव र जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोषको स्थापना गरेकी हुन् ।

पर्वत मोदी गाउँपालिका घर भई हाल जापानको नागासाकीमा बस्दै आएकी उषा पौडेल भण्डारीले जापानको चिकियोकान नामक संस्थाको समन्वयमा विभिन्न नेपाली परिकारहरु, नेपाली लुगा विक्रि गरेर संकलन भएको रकमबाट अक्षयकोष स्थापना गरेकी हुन् ।

९ बर्ष अघि जापान पुगेकी भण्डारीले परिवारका अन्य सदस्यको सहयोग लिएर विद्यालयमा अक्षयकोष स्थापना गरेकी हुन् । ‘पैसा जुटाउनका लागि विभिन्न स्थानमा च्यारिटिसो देखाउने कामपनि गरियो’ उनले भनिन् ‘जुन उद्देश्य लिएर अभियान थालिएको थियो त्यो उद्देश्य पुरा भयो’ भण्डारीले खुशी व्यक्त गरिन् ।
गत बर्ष स्थापना भएको नागासाकी–भद्र–सरस्वती अक्षयकोषको व्याज रकमबाट मंगलबार विद्यालयमा महाभुकम्प गएको दिन पारेर एक कार्यक्रमको आयोजना गरी भुकम्पपिडित बालबालिका साथै गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको छ ।

अक्षयकोष व्यवस्थापनका लागि बनेको समितिको बैठकले विद्यालयमा अध्ययनरत बालबालिका मध्येबाट १२ जना लक्षित विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
जस अन्तर्गत भुकम्पपिडित विद्यार्थी मध्ये निश्चल गुरुङ र गणेश सिलवाललाई नगद जनही तीनहजार र दुई हजार एकसय रकम प्रदान गरिएको थियो भने गरिव तथा जेहन्दार विद्यार्थी मध्येबाट प्रभात बसेल, लक्ष्मण श्रेष्ठ, अस्मी कुमाल, बविता भण्डारी, मनिषा विक, शिशिर चापागाई, प्रकाश श्रेष्ठ, विनिता थापा मगर, तारा क्षेत्री र एलिसा श्रेष्ठलाई जनही दुई हजार एकसय रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा कोषकी अध्यक्ष सरस्वती भण्डारीले सहयोगदाताप्रति आभार प्रकट गर्दै कोषको लक्ष्य र उद्देश्य बमोजिम बालबालिकालाई छात्रबृत्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषका कोषाध्यक्ष लेखनाथ उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव कमलनाथ शर्मा र विद्यालयका प्रधानध्यापक भुपेन्द्र चापागाईले धन्यवाद ज्ञापन गरेका थिए ।
सोही अवसरमा अन्य क्षेत्रमा सहयोग प्रदानको शिलशिलामा आएका जापानिज नागरिकहरुले शिवालय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षा व्यवस्थापनको लागि २० हजार नगद प्रदान गरेका थिए ।