चिनियाँ कम्युनिस्ट पार्टीको भण्डाफोर गर्ने धम्की


बेइजिङ, (एजेन्सी)
चीन छोडेर विदेशिएका एकजना अर्बपति चिनियाँले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीमाझ रहेको भ्रष्टाचारको भण्डाफोर गरिदिने चेतावनी दिएका छन्। तर उनको यस कदमविरुद्ध बेइजिङले कडा अलोचना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टका सदस्यसमेत रहेका गुओ वेन्गुइले हालै एकजना चिनियाँ एयरलायन्स मालिकले सन् २०१६ मा हङ्कङमा ठूलो परिमाणमा जमिन किन्ने क्रममा राजनीतिज्ञहरु खरिद गरेको आरोप लगाएका छन्। आइतबार ट्विटरमा पोस्ट गर्दै गुओले आफूले सन् २०१३ देखि चीनमा शुरू भएको भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानको सत्यता पछाडिको वास्तविकता भण्डाफोर गर्न पत्रकार सम्मेलन गर्ने आफ्नो योजना रहेको जानकारी दिएको दक्षिण कोरियाली पत्रिका चोसुन बिजले जनाएको छ।