युवा परिषद्का उपाध्यक्षलाई बर्खास्त गर्ने तयारी


ईश्वरराज ढकाल, काठमाडौं
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गर्न स्पष्टीकरण–पत्र तयार गर्नुभएको छ। मन्त्री श्रीपाइलीले मन्त्रिपरिषद्मा पेस गर्ने गरी तयार गर्नुभएको सो पत्र मुख्यसचिव डा. सोमलाल सुवेदीको टेबुलमा पुगेको छ।

गत वैठकमा पेस गर्ने गरी सोमबार नै तयार गरिएको पत्रमा ३ दिनभित्र स्पष्टीकरण दिनुपर्ने उल्लेख गरिएको छ। मन्त्री श्रीपाइलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महान्यायाधिवक्ता रमण श्रेष्ठसँग गम्भीर परामर्श गरेपछि सो पत्र तयार गर्नुभएको स्रोतले जनाएको छ।

एमाले निकट ढुंगेललाई हटाउन पटक–पटक प्रयास गरे पनि सो फल हुन नसकेपछि मन्त्री श्रीपाइलीले बर्खास्त गर्न अन्तिम विकल्प अघि बढाउनुभएको हो। मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएपछि उपाध्यक्ष ढुंगेललाई ३ दिने स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नदिएको आरोपमा हटाउने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ। १० गते नै स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको पत्रमा युवा परिषद्को दफा १५ को उपदफा ३ ले ४ वर्षको कार्यकाल तोकेको र सोही दफाको उपदफा ३ मा उपाध्यक्षले आफ्नो पदअनुरूपको आचरण नगरेमा वा जिम्मेवारी पूरा नगरेमा वा परिषद्लाई हानी नोक्सानी पुर्याएमा नेपाल सरकारले जुनसुकै बेला हटाउन सक्ने उल्लेख गर्दै प्रस्ताव दायर गरिएको छ।
प्रस्ताव पेस गर्नुको कारण र मन्त्रालयको सिफारिस उल्लेख गर्दै कारबाही गर्नुपर्नाका कारण ५ बँुदामा उल्लेख गरिएको छ। मन्त्रिपरिषद्मा पेस नभएको तर नेपाल समाचारपत्रले प्राप्त गरेको दस्तावेजमा परिषद्को ऐन २०७२ को दफा १५ को उपदफा ५ अनुसार पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मौका पेस गर्न दिनुपर्ने भनी उल्लेख भएअनुसार स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरणको पहिलो बँुदामा परिषद् गठन गर्दाको ऐनका दफा ५ को उपदफा २ बमोजिम कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराइनुपर्नेमा नगरेको र युवा समिति गठन प्रक्रिया सम्बन्धनमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएकोमा प्रतिवेदन पेस नगरेको, युवा समिति गठन गर्दा स्थानीय तहमा युवाको संरक्षण, सम्वर्धन वा युवा विकास र परिचालन क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरी योगदान पुर्याएको व्यक्तिलाई अध्यक्ष चयन गर्नुपर्नेमा सो नगरेको, परिषद्बाट भएका निर्णय कार्यान्वयन नगरेको, परिषद् र अध्यक्षले समय–समयमा दिएका निर्देशनहरू पालना नगरेको, परिषद्को नियमावली २०७३ को नियम १० को उपदफा २ बमोजिम उपाध्यक्षले परिषद्को कामको सिलसिलामा नेपालभित्र र बाहिर भ्रमण जानुपर्दा अध्यक्षबाट बिदा स्वीकृत नलिई सेवा सर्त पालना नगरेको उल्लेख गरिएको छ।

त्यस्तै परिषद्को कार्यकारी प्रमुखबकै हैसियतमा परिषद्को उद्देश्य हासिल गर्न कार्ययोजनासहित कार्यसम्पादन गर्न नसकेको, परिषद्को ऐनको दफा १६ तथा नियमावलीको नियम ११ बमोजिम पदीय कर्तव्य र नियम १० बमोजिमका सेवा सर्त पालना नगरेको आरोप पत्रमा लगाइएको छ।

मन्त्रालयले तयार गरेको पत्रमा उपाध्यक्ष ढुंगेलले पदअनुसार आचरण नगरेको र ऐनको दफा १६ र नियमावलीको नियम ११ कमोजिम पदीय कर्तव्य र नियम १० बमोजिम सेवा सर्तहरू पालना नगरेको देखिएकाले निजले के–कति कारणले यस्तो कार्य गरेको हो ३ दिनभित्र स्पष्टीकरण पेस गर्न माग गर्ने विषय उल्लेख गरिएको छ।
मन्त्रीले स्पष्टीकरण तयार गरेको सूचना पाउनासाथ उपाध्यक्ष ढुंगेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराउनुभएको छ। स्रोतका अनुसार उपाध्यक्ष ढुंगेलले स्पष्टीकरण–पत्र प्राप्त हुनासाथ स्पष्टीकरण पेस गर्ने र कानुनी उपचारका लागि अदालत जाने मानसिकता बनाइरहनुभएको बुझिएको छ। मन्त्रालयले तयार गरेको पत्रमा निमित्त सचिव अणप्रसाद न्यौपानेले हस्ताक्षर गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ।