काष्ठमण्डप पुनर्निर्माणको घोषणा


नेपाल समाचारपत्र
काठमाडौं
दुई वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण समुदायको सहभागितामा जनताले नै गर्ने प्रण गरिएको छ।

गोरखा भूकम्पको दोस्रो वार्षिकीको अवसरमा मंगलबार काष्ठमण्डप परिसरमा आयोजित एक कार्यक्रमकाबीच काष्ठमण्डपको पुनर्निर्माण जनताले नै गर्ने घोषणा गरिएको हो। उक्त कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले नेपालको अमूल्य पुरातात्त्विक सांस्कृतिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण जनताले नै गर्ने घोषणा बताउनुभयो। सो अवसरमा उपस्थित जनसमुदायले निस्वार्थ भावले काष्ठमण्डपलको पुनर्निर्माणमा सहयोग गर्ने वाचा गरेका थिए। सोही अवसरका काष्ठमण्डपमा दुई वर्षअघिको विनाशकारी भूकम्पमा परी दिवंगत हुनेको आत्माको शान्तिका लािग पाठ गरिएको थियो।

कार्यक्रममा बोल्दै काष्ठमण्डप पुनर्निर्माण अभियानका सदस्य तथा नेपाल सम्पदा संघकी अम्बिका श्रेष्ठले सम्पदाप्रति अगाध श्रद्धा प्रकट गर्दै काष्ठमण्डप पुनर्निर्माणका लागि प्रतिबद्धता प्रकट गर्न उपस्थित जनसमुदायलाई स्वागत अभिवादन गर्नुभयो।

विनाशकारी भूकम्पले भत्काएको ठीक दुई वर्ष पुगेकै दिन मंगलबार काष्ठमण्डप पुनर्निर्माणको सार्वजनिक घोषणा गरिएको हो। स्थानीय समुदायको सक्रियता शुरू हुन लागेको ‘काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान’ ले काष्ठमण्डप पुनर्निर्माणका लागि सम्पूर्ण जनसमुदायलाई सक्दो सहयोग र सहभागिताको लागि पनि आग्रह गरेको छ। अभियानले पुरातत्त्व विभाग पनि पुनर्निर्माणमा सहभागी हुने जनाएको छ।