राष्ट्रपति भण्डारीद्धारा भक्तपुर र पाटनको अवलोकन


पुष्कर बुढाथोकी,भक्तपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भुकम्पले भत्काएको भक्तपुरको विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रको सम्पदाको अवलोकन गर्नुभएको छ ।

बिनाशकारी भूकम्प गएको दुईवर्ष पुगेको दिन आज बैशाख १२ गते उहाँले भूकम्पले भत्काएका भक्तपुरको सम्पदाहरुको अबस्था र पूर्ननिर्माणको अबस्थाबारेमा जानकारी लिनुभएको हो ।

उहाँले भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, पशुपति मन्दिर लगायतका सम्पदाको अवलोकन गर्नुभएको हो ।उहाँले अवलोकनसंगै भूकम्पले भत्काएका सम्पदाको पुर्ननिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुने गरि काम गर्नुपर्ने बताउनु भयो ।

स्थानीय श्रोत साधनको प्रयोग, स्थानीय जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिदै उहाँले पुननिर्माणलाई तिब्रता दिनु पर्ने बताउनु भएको थियो ।

उहाँले पुर्न निर्माणको अबस्था, काठ अभाव भए नभएकोबारेमा समेत जिज्ञासा राख्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुब्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोली लगायतले स्वागत गर्दै सम्पदाको भूकम्प पछिको अबस्था र पुर्ननिर्माणकोबारेमा जानकारी गराउनु भएको थियो ।

राष्ट्रपति भण्डारी पाटनमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज भुकम्पको बार्षिकीको अवसर पारेर अचानक पाटनको मगंलबजार पुग्नुभएको छ ।

उहाँ पाटनमा रहेका पुरातात्विक सम्पदाको अवलोकन गर्न जानुभएको स्रोतले जनाएको छ ।

भुकम्प पछि पुनर्निर्माणको कामले तिब्रता पाएको छ या छैन भन्ने पछिल्लो स्थितको जानकारी लिनको लागि उहाँ अचानक पुग्नुभएको बताइएको छ ।