पुनर्निर्माणमा सकस, अझै छैन अनुदान


३ सय ६७ जनाले ज्यान गुमाएको काभ्रेपलाञ्चोक जिल्लामा पूर्णरूपमा ५१ हजार १ सय ७० घर क्षति भएका थिए भने २३ हजार ८ सय ८६ घर आशिंक रूपमा क्षति भएका थिए। ५ हजार घर परिवारले मात्रै दुई वर्षमा घर निर्माण गरी दोस्रो किस्ता माग गरेका छन्।

 

मोतीराम तिमल्सिना, काभ्रे
भूकम्प गएको दुई वर्ष पुगिसक्दा समेत वास्तविक भूकम्प पीडितहरूले सरकारले घोषणा गरेको पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्न सकेका छैनन्। एउटै घरमा चार जनाको मृत्यु भएका परिवारसमेत लाभग्राहीको सूचीमा पर्न सकेका छैनन्।

लाभग्राहीको सूचीमा परेका भूकम्पपीडितसँग पनि अझै सम्झौता हुन सकेको छैन। सम्झौता भएकाले पनि अनुदान प्राप्त गर्न सकेका छैनन्। अस्तव्यस्त पुनर्निर्माणको काम राज्यको पुनर्संरचनाले सुस्त बनाइदिएको छ। प्राधिकरणकै कर्मचारीको भाषामा भन्ने हो भने धिमे गतिमा अगाडि बढेको पुनर्निर्माण स्थानीय निकायबाट झ्याप्पै बन्द भएको छ।

काभ्रे जिल्लामा ८० हजार ७ सय २० घरधुरी रहेका छन्। जिल्लाको कुल जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ मध्ये जिल्लाभित्रकै ३ सय १८ जनाको मृत्यु भएको थियो। काभ्रे जिल्लाबाट अन्यत्र बसोबास गर्नेहरू ४९ जनासमेत गरी ३ सय ६७ जना काभ्रेबासीहरूले भूकम्पमा ज्यान गुमाएका छन्। ३ सय १८ जनामा पुरुष ८९, महिला १ सय २५, बालक ४७, बालिका ५७ रहेका छन्। भूकम्पमा ४ हजार ६ सय ६९ घाइते भए। पूर्णक्षति घरधुरी ५१ हजार १ सय ७० र आंशिक क्षति २३ हजार ८ सय ८६ रहेका छन्। ७५ हजार ५६ घर बस्न अयोग्य थिए। ५ हजार ६ सय ६४ घरमा मात्रै भूकम्पले क्षति नपुर्याएको जिल्ला प्राविधिक समितिको तथ्यांक प्रस्तुत गरिएको थियो।

घाइतेहरूलाई धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, अन्य शिवर तथा स्वास्थ्य चौकीमा, स्पाइनल इन्जुरी, पुनस्र्थापना केन्द्रलगायतक स्थानमा उपचार गरिएको थियो। भूकम्पमा ३ हजार ९ सय ४६ पशु, १७ हजार ९ सय ९ पन्छीको मृत्यु भएको छ। भूकम्पमा २ हजार २ सय ९२ पशु घाइते भएका थिए। पूर्णक्षति गोठ ९ सय १०, मरेको बीमित पशु संख्या गाई १ सय ३९, भैंसी ८१, सामुदायिक विद्यालय ५ सय ९० मध्ये ९९ पूर्णक्षति, पूर्ण क्षति कक्षा कोठा १ हजार ५ सय ७१, सामान्य क्षति कक्षा कोठा १ हजार ९ सय २२, शौचालय १ सय २६ वटा पूर्णरूपमा क्षति, सरकारी कार्यालय भवन क्षति २४ वटा, मन्दिर ६७, उप–स्वास्थ्य चौकी २४ क्षति भएका छन्।

लालपुर्जा नभएर लामो समय सम्झौता गरी अनुदान प्राप्त गर्न नसकेका साविकका भुम्लुटार र फलाँटे गाविसका भूकम्पपीडितले सम्झौता भएको दुई महिनासम्म पहिलो किस्ताको रकमसमेत प्राप्त गर्न सकेका छैनन्। सरकारले भूकम्प पीडितहरूका लागि विनियोजन गर्नुपर्ने रकम बैङ्क खातामा पठाउन नसक्दा काभ्रेका दुई गाविसका सबै भूकम्पपीडित र अन्य साविकका गाविसका भूकम्पपीडितले अझै रकम पाउन सकेका छैनन्। भुम्लुटारमा ४ सय ५० र फलाँटेमा ३ सय ३६ जना भूकम्पपीडितसँग सम्झौता भएको थियो। जिल्लामा भूकम्पपीडितका रूपमा पहिचान भएका ६९ हजार ४ सय ६४ जना भूकम्प पीडितहरूमध्ये ६२ हजार ९ सय ९१ जनासँग मात्रै अनुदान सम्झौता भएको छ।

भूमिहीन, सुकम्बासी र अन्य कारणबाट आफ्नो नाममा जग्गा नहुनेहरूले भूकम्पको अनुदान रकम प्राप्त गर्न सम्झौता गर्न सकेका छैनन्। साविकको जिल्ला विकास समितिबाट ६० हजार ४ सय २१ र एनजीओ तथा आईएनजीओहरूमार्फत २ हजार ५ सय ७० भूकम्पपीडितसँग अनुदानको सम्झौता भएको थियो। त्यस्तै अनुदान प्राप्त गरी घर निर्माण गरिरहेका १ हजार ४ सय ५९ जना भूकम्पपीडितलाई एनजीओहरूले दोस्रो किस्ताबापतको रकम भुक्तानी गरिसकेका छन् भने केहीले पूर्णरूपमा अनुदान प्राप्त गरिसकेका छन्। जिल्लामा लाभग्राहीको सूचीमा नपरेको भन्दै २२ हजार १ सय ९८ जना भूकम्पपीडितले गुनासो दर्ता गराएको भए पनि ८ हजार ३ सय २८ जनाको मात्रै सुनुवाइ भएपछि थप पीडितहरू झनै आक्रोशित भएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पको लाभग्राही सूचीमा नपरेकाहरूलाई पुनः समावेश गर्न पहिलो चरणमा जिल्लाका रविओपी, चण्डेनीमण्डन, बल्थली, पाँचखाललगायतका स्थानबाट नमुना परीक्षण शुरु गरेको जिल्ला प्रमुख धुर्व गैडाले जानकारी दिए।