तालु खुइलिएका बारे सम्मेलन सम्पन्न


नेपाल समाचारपत्र
काभ्रे
धुलिखेल अस्पतालमा तालु खुइलिएकाहरूका लागि कसरी सुन्दर र स्वस्थ्य बनाउने भन्ने बारेमा एक दिने दोस्रो सम्मेलन शुक्रबार सम्पन्न भएको छ।
सम्मेलनको उद्घाटन गर्दै काठमाडौं विश्व विद्यालयका उपकुलपति प्राडा.रामकण्ठ माकजुले, ‘छोटो समयमा नै काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलले जे–जस्तो प्रगति ग¥यो, त्यसले हामीलाई धेरै हदसम्म सन्तुष्ट बनाएको छ’ –भन्नुभयो। उहाँले दक्षिण एसियामा नै देखा परेको कपाल झर्ने समस्याका बारेमा धुलिखेल अस्पतालले विगत १० वर्षअघि परिकल्पना गरेको कपाल प्रत्यारोपण विधि आज धुलिखेल अस्पतालको डर्माटोलोजि (छाला) विभागले साकार पारेको छ, भन्नुभयो।
गत वर्ष धुलिखेल अस्पतालमा देशैभरिका डर्माटोलोजि विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भेलाको आयोजना गरी दुई दिने सम्मेलन गरि अन्तर्राष्ट्रिय जगतबाट नै विशेषज्ञहरू उपस्थित भएर कपाल प्रत्यारोपणको थालनी गर्न सफल भएको सो अवसरमा बताइयो। यो नेपाल र नेपालीका लागि मात्र नभै दक्षिण एसियाकै लागि गौरवको विषय हो डा.माकजूले भन्नुभयो।
उहाँले ‘हातमा केही नहुँदा पनि ठूला–ठूला सपना, दूरदर्शिता, लगाव र इच्छाशक्ति भएका संस्थापक नेतृत्व, विश्वविद्यालयका मिहिनेती परिवार तथा हाम्रा सहयोगी र शुभचिन्तकहरूका कारण आज हामी यहाँसम्म आइपुगेका हौँ’ –उहाँले भन्नुभयो। उहाँले व्यक्तिगत भविष्यकोबारे सोच्नुभन्दा पहिले आम जनताको चुनौतिहरूका बारेमा केही सोचौँ भन्दै अझै पनि नेपालमा गुणस्तरीय स्वास्थ्य शिक्षाको पहुँच एकदमै थोरै समुदायमा मात्र रहेको बताउनुभयो। धेरैजसो शिक्षित जमात चाँडोभन्दा चाँडो विदेशमा पाइने अवसरको खोजीमा तल्लीन रहेको बताउँदै समता र उपयोगिताको अभावको महसुस गर्दै आफूहरू देशभित्र शिक्षा क्षेत्रमा दुई वर्गका युवा जमात तयार गर्दै छौँ भन्नुभयो।
कार्यक्रममा काठमाडौं विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल डर्माटोलोजि विभागका प्रमुख डा.धर्मेन्द्र कर्णले कपाल प्रत्यारोपणका क्षेत्रमा धुलिखेल अस्पताल एउटा नमूना अस्पताल हो भन्नुभयो।
कार्यशालामा अनुभव आदान प्रदान तथा कार्यपत्र प्रस्तुतिका लागि विभिन्न मुलुकबाट सहभागी भएका कपाल प्रत्यारोपण विशेषज्ञहरू डा.प्रशान्त अग्रवाल, डा. सिद्धार्थ श्रमथलिया, डा. सृष्टि श्रेष्ठलगायतले स्वास्थ्य शिक्षा उत्कृष्ठ र गुणस्तरीय हुनुपर्ने र यसका लागि नेपाल अत्यन्तै उपयोगी थलो भएको बताएका थिए।