काठमाडौँ, ७ वैशाख । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ ।
सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि ताला खोलिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनुभयो ।
वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको उहाँले बताउनुभयो ।
यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान गर्ने सदस्य दिलाउने सहमतिसमेत भएको मगरले जानकारी गराउनुभयो ।
शाखाका असन्तुष्ट सदस्यले पुराना सदस्यको नवीकरण गर्नुपर्ने, नयाँ सदस्य खुलाउनुपर्ने जस्ता माग राख्दै चैत ३० गते ताला लगाएका थिए । पछिल्लोपटक महासङ्घका सदस्यका विषयलाई लिएर तालाबन्दी गर्ने प्रचलन बढेको छ । रासस
प्रतिक्रिया