मतदान केन्द्र १८ हजार ५ सय ७२


काठमाडौं, (नेस)
निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७ प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार, मतदानस्थलको संख्या १० हजार ६ सय ४० र मतदान केन्द्र १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ। जसअनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ।
आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुंगो लागेको छ।