भारत भ्रमण फलदायी ः परराष्ट्रमन्त्री


काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण द्विपक्षीय सम्बन्धका लागि महत्वपूर्ण र फलदायी रहेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको दाबी छ। साथै भ्रमणलाई भारतले उच्च महत्व दिएको उहाँको भनाइ छ।

बुधबार बिहान स्वदेश फर्कनुभएका मन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘द्विपक्षीय सम्बन्ध थप निकट बनाउन यो भ्रमण फलदायी भएको छ, भारतले राष्ट्रपतिलाई उच्च सम्मानका साथ स्वागत गरेको छ।’ भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य उच्च अधिकारीहरूको उपस्थिति माझ राष्ट्रपतिलाई भारतले ‘गार्ड अफ अनर’ प्रदान गर्नु महत्वपूर्ण सम्मान भएको उहाँको भनाइ थियो।

साथै मंगलबार साँझ राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गर्नुभएको रात्रि भोजका क्रममा समेत प्रधानमन्त्री मोदीसहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले अहिलेको भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको मन्त्री महतले बताउनुभयो। मंगलबार राष्ट्रपति भण्डारीसँग भारतीय उच्च अधिकारीहरूले गरेको भेटवार्ताका क्रममा आसन्न स्थानीय निकायको निर्वाचन र अन्य सहयोगबारे सकारात्मक प्रतिक्रिया रहेको उहाँले बताउनुभयो।

‘नेपालको लोकतान्त्रिक प्रक्रिया र अन्य विकास कार्यबारे सहयोग गर्न भारत सकारात्मक छ, प्रधानमन्त्री मोदीले समेत नेपालको लोकतान्त्रिक अभ्यास, समृद्धि र सबै प्रयासमा सघाउने बताउनुभएको छ’ –मन्त्री महतले भन्नुभयो।