चित्रकारको सम्झनामा श्रद्धाञ्जली सभा


काठमाडौं, (नेस)
शान्ति निकुञ्ज माध्यमिक विद्यालय तथा शान्ति निकुञ्ज पूर्वविद्यार्थी संघको संयुक्त आयोजनामा सोही विद्यालयका पूर्वप्रधानाध्यापक माणिकबहादुर चित्रकारको सम्झनामा यही वैशाख ३ गते एक शोक सभा आयोजना गरिएको थियो। उहाँले सो विद्यालयमा २५ वर्षसम्म प्रधानाध्यापक भई सेवा गर्नु भई वि.सं.२०४३ सालमा अवकाश प्राप्त गर्नुभएको थियो। उहाँको गत २०७३ चैत्र २६ गते ८९ वर्षको उमेरमा निधन भएको थियो।

शानिपूविसंका कोषाध्यक्ष तथा शानिमाविका शिक्षिका अनीता मानन्धरले शुरु गर्नुभएको सो सभामा उपस्थित सबैले उहाँको तस्वीरमा फूल चढाउनुभएको थियो। शानिमावि व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज वन्त, शानिपूविसका सदस्यहरू पुरातत्वविद् साफल्य अमात्य, इन्जिनियर भाइराजा शाक्य, कृषि विशेषज्ञ शिवबहादुर नेपाली प्रधान तथा यस माविका हालका प्रधानाध्यापक ज्ञानकाजी महर्जनले दिवंगत शिक्षक माणिकबहादुर चित्रकारको देनबारे प्रकाश पार्नुभएको थियो।