सिंहदबार र बालुवाटार घेर्ने चेतावनी


काठमाडौं (नेस)
राष्ट्रिय ख्रिस्टियन महासंघ, नेपालले गत वैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको भन्दै उक्त घटनाको निष्पक्ष छानविनको माग गरेको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले खड्कामाथि भएको आक्रमण सिंगो ख्रिस्टियन समुदायमाथिको आक्रमण भएको आरोप लगाउँदै उक्त घटनाको दोषी पत्ता लगाई कडा कारबाहीको माग गरेको छ। महासंघका अध्यक्ष सीबी गहतराजले उक्त घटनाको निन्दा गर्दै भने– ‘हाम्रो कार्यालय सचिवमाथि भएको घटनाको जति निन्दा गरे पनि कमै हुन्छ, जसले गरेको भए पनि त्यो घोर निन्दनीय र अक्षम्य छ, यस्ता गैरजिम्मेवारपूर्ण कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदछौं।’
उनले घटनाको दोषी पत्ता लगाएर दोषीमाथि कडा कारबाही नगरिए महासंघले सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र संयुक्त राष्ट्रसंघको नेपाल हेडक्वार्टर घेर्नेसमेत चेतावनी दिए।