फेसबुक हत्याराले आत्महत्या गरे


क्लिभल्यान्ड (एजेन्सी)
अमेरिकामा एकजना वयस्कको हत्या गरेको घटनालाई प्रत्यक्ष फेसबुकमा प्रसारण गर्ने ब्यक्तीले आत्महत्या गरेको छ। स्टिव स्टिफन्स नामका ती ब्यक्तीलाई पछ्याउने क्रममा अधिकारीहरू उसको गाडीको नजिक पुगेपछि पक्राउ पर्ने डरले उसले आफैमाथि गोली प्रहार गरेको प्रहरीले बताए।

उक्त घटना क्लिभल्यान्ड सहरबाट १ सय ६० किलोमिटर दुरीमा भएको जनाइएको छ। क्लिभल्यान्डमा नै ती ब्यक्तीले ७४ बर्षिय रोबर्ट गुडविनको हत्या गरिरहेको भिडियो फेसबुकमा राखेका थिए। फेसबुकमा उक्त भिडियो दुई घण्टासम्म रहेको थियो। केहि समयपछि उक्त भिडियो हटाइएको थियो।

फेसबुकका मालिक मार्क जकरबर्गले मृतक परिवारप्रति संवेदना प्रकट गर्दै भविष्यमा फेसबुकले यस प्रकारका पोस्टलाई रोक्न सकभर प्रयास गरिने आश्वासन दिएका थिए।

गोली प्रहारको भिडियोलाई फेसबुकमा पोस्ट गरिएको यो पहिलो घटना भने होइन। गत बर्ष जुनमा सिकागोमा एक ब्यक्ती फेसबुक लाइभ स्ट्रिममा रहँदैको अवस्थामा गोली प्रहारबाट मारिएका थिए।

मार्चमा एक पनि एक ब्यक्तीलाई फेसबुक लाइभमा १६ पटक गोली प्रहार गरि हत्या गरिएको थियो।