फिल्ममा नेप्टे


नेप्टे भनेर जिस्काइने चलनलाई अब फिल्ममा उतारिने भएको छ। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेप्टे नाममा फिल्म बनाइने घोषणा गरिएको हो। आगामी जेठमा सुटिङका लागि फ्लोरमा जाने फिल्मको निर्देशन देवकुमार श्रेष्ठ र निर्माण रोहित रुम्बाले गर्ने भएका छन्।
‘नेप्टे हेपिएको शब्दजस्तो लागे पनि मायाले बोलाउँदा यही नाम राम्रो सुनिन्छ। त्यसैले यो नाममा फिल्म निर्माण गर्न लागिएको हो’, कार्यक्रममा निर्देशक श्रेष्ठले फिल्ममाथि प्रकाश पार्दै भने– ‘फिल्म जुझारु युवाको कथामा बन्नेछ। जसले परिवार, गाउँ, समाज र देशका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका हुन्छन्।’ उनले फिल्मले विदेशमा बस्ने युवाको स्वदेशप्रतिको मायालाई प्रस्तुत गर्ने दाबी गरे।

फिल्मका शीर्ष अभिनेता प्रमुख कलाकार दयाहाङ राईले फिल्मबाट आशा गर्न सकिने दाबी गरे। ‘फरक किसिमको फिल्ममा अभिनय गर्ने बानीका कारण रोहितजीसँग सहकार्य हुनसकेको थिएन। यस पटक चाहिँ काम गर्ने मौका जुरेको छ’, दयाहाङले कार्यक्रममा भने– ‘फिल्मको कथा मन परेकाले म नेप्टे बन्न तयार भएँ।’ फिल्ममा दयाहाङको जोडीको रूपमा नायिका तथा निर्मातृ छुल्ठिम डोल्मा गुरुङ देखिनेछिन्। उनले दयासँग काम गर्ने आफ्नो सपना पूरा भएको बताइन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पछिल्लो समयमा सामाजिक फिल्मप्रति फिल्मकर्मीको ध्यान गइरहेकोमा खुसी व्यक्त गर्दै नौलो कथाका फिल्मलाई दर्शकले रुचाउने आशा व्यक्त गरे। आर रोसाफी फिल्म्स्को ब्यानरमा निर्माण हुन लागेको सामाजिक कमेडी फ्लेबरको फिल्ममा दया र छिल्ठुमसँगै रोहित रुम्बा, माला लिम्बु, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई, बाबु बोगटी, जयकिशन बस्नेत, जयनन्द लामा, उत्तम केसीलगायतका कलाकार प्रमुख भूमिकामा रहनेछन्।
फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, दिनेश पाख्रिन र कविराज गहतराजको नृत्य, बाबु बोगटी, रोहित रुम्बा, सन्तोष राज र ओम सुनुवारको संगीत, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन तथा हरि घले लामाको छायांकन रहने बताइएको छ।