आपसी सम्बन्ध अझ सुदृढ हुने राष्ट्रपति भण्डारीको विश्वास


नयाँ दिल्ली ,भारत,५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गर्नुभयो । सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

राष्ट्रपतिबाट यमुना उद्यानमा वृक्षरोपण

मित्रराष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गर्नुभएको छ ।

कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोप्नुभएको हो । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी हुनुभएको थियो ।

यसअघि आज बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । रासस