फेरि बढ्यो इन्धन माग


काठमाडौं, (नेस)

स्थानीय चुनावको मिति नजिकिएसँगै मधेसी मोर्चाले निर्वाचनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेपछि आइतबार र सोमबार पेट्रोल पम्पहरूमा लाइन देखिएको छ। अरू दिन सहज रूपमा व्यवस्थापन भइरहेको इन्धन वितरण प्रक्रियामा आन्दोलनको घोषणापछि एकाएक बजार माग उच्च देखिएको हो।

आइतबार आयल निगमले औसतको भन्दा करिब साढे दुईलाख किलोलिटर बढी पेट्रोल बिक्री गरेको छ। ४ लाख किलोलिटर पेट्रोल दैनिक माग रहेको उपत्यकाका लागि ६ लाख २० हजार किलोलिटर पेट्रोल वितरण गरेको हो। चैत अन्तिम सातासम्म सामान्य रहेको इन्धन माग आइतबार झण्डै ३० प्रतिशतले बढेको छ। त्यस्तै सोमबार पनि आइतबार बराबरकै अनुपातमा इन्धन वितरण भएको निगमले जनाएको छ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलले बन्दको घोषणाले भन्दा पनि दुई दिन वितरण नभएपछि पेट्रोल पम्पहरूमा लाइन देखिएको बताउनुभयो। पोखरेलले भन्नुभयो–‘वैशाख १ र २ गते नयाँ वर्ष तथा शनिबार परेकाले आइतबार र सोमबार पम्पहरूमा लाइन देखिएको हो, आइतबार बजारमा अत्याधिक मागको स्थीति सिर्जना भएपछि सोमबारको सार्वजनिक बिदामा पनि आन्तरिक ढुवानी गरेर सबै पम्पहरूलाई वितरण गर्ने व्यवस्था मिलाएका छौं। बन्द भन्ने बित्तिकै इन्धन अभावको मानसिकता सर्वसाधारणमा छ। हामी सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गर्दछांै।’

विगतमा भएका मधेस बन्द र नाकाबन्दीबाट दुःख भोगेका सर्वसाधारणले अहिले पनि त्यस्तो अवस्था आउनसक्ने भन्दै बढी मौज्दात राख्दा समस्या देखिएको प्रवक्ता पोखरेलले बताउनुभयो। त्यस्तै निगमले उपभोक्ताहरूको मागलाई ध्यानमा राख्दै सोमबार सार्वजनिक बिदाको दिन पनि सबै डिपोमार्फत इन्धन वितरण गरेको छ।