फेसबुक लाइभमा हत्या गर्नेको खोजी


क्लिभल्यान्ड (एजेन्सी)
अमेरिकाको क्लिभल्यान्ड सहरमा एक बृद्ध नागरिकको हत्या फेसबुकमा लाइभ देखाएको घटना अगाडी आएको छ । क्लिभल्यान्ड प्रहरीले मृतकको पहिचान ७४ बर्षिय रोबर्ट गुडविनका रुपमा गरेको छ ।

यस मामिलामा संदिग्ध स्टिभ स्टेफन्सले अर्को एउटा भिडियोमा अन्य १३ जनाको हत्या गर्ने विषयमा भनेका थिए । यद्यपी प्रहरी प्रमुख केल्भिन विलियम्सले अहिलेसम्म एक ब्यक्तीको हत्या भएको पुष्टि गरेको छ । प्रहरीको कयौं टोली स्टेफन्सको खोजी गरिरहेको विलियम्सले जानकारी दिए । उनले ती संदिग्ध हत्याराको खोजीका लागि ओहायो राज्य र त्यसको वरपरको इलाकामा सतर्कता जारी गरेको बताए ।

प्रहरीले संदिग्ध ब्यक्तीलाई देखेमा त्यसको सुचना दिन र हत्याराको नजिक नजान निर्देशन जारी गरेको छ । क्लिभल्यान्ड प्रहरीले उक्त संदिग्ध ब्यक्तीको तस्वीर र उनले क्रिम रंगको एसयूवी गाडी चलाइरहेको सुचित गरेको छ ।

एफबीआई पनि क्लिभल्यान्ड प्रहरीसँग मिलेर खोजी अभियानमा लागेको सीएनएन न्युजले जनाएको छ । क्लिभल्यानडका मेयर प्mय्रान्क जेक्सनले अन्तत स्टेफेन्सलाई पक्राउ हुने बताए ।

फेसबुकमा गोली प्रहारको दृष्य प्रत्यक्ष प्रसारणको यो पहिलो घटना भने होइन । गत बर्ष जुनमा सिकागोमा एक ब्यक्तीले आफुलाई प्रत्यक्ष प्रसारणमा राखिरहँदा उनको हत्या भएको थियो ।

गत मार्चमा पनि एक ब्यक्तीलाई लाइभमा १६ पटक गोली प्रहार गरी हत्या गरिएको थियो ।