ढुंगेललाई पक्राउको म्याद भोलि सकिँदै


भारत गएको खुलासा

मधुसूदन रायमाझी, काठमाडौं

सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुजिँ्रदासमेत पक्राउ परेका छैनन्। सर्वोच्च अदालतले चैत्र ३१ गते मन्त्रिपरिषद्को कार्यालयलाई सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि ढुंगेल अहिले भूमिगत भएका छन्।

सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि पक्राउ नपरेको भन्दै सर्वोच्च अदालतमा पुनः रिट परेपछि सो अदालतले सात दिनको समयभित्र पक्राउ गर्न निर्देशन दिएलगत्तै नेता ढुंगेल गायब भएका छन्। सर्वोच्चले पक्राउ गर्न आदेश दिए पनि नेता ढुंगेल प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रमुखहरूसँग बेलाबेलामा देखापर्दै आएका थिए। सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि माओवादीकै सल्लाहमा ढुंगेल भारत प्रस्थान गरेको बताइएको छ। माओवादीका एक नेताले भने– ‘बालकृष्ण ढुंगेल नेपालमा हुनुहुन्न, कामले भारततिर जानुभएको छ।’

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सर्वोच्च अदालतले ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न दिएको निर्देशनको बारेमा कुनै छलफल नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सर्वोच्चले गरेको धेरै फैसला कार्यान्वयन नहँुदा उजुरी दिने र पुनः सर्वोच्च अदालतले कार्यान्वयन गर्न निर्देशन दिँदै आएको छ।’ नेकपा माओवादी केन्द्रले भने द्वन्द्वकालीन मुद्दामा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने बताउँदै आएको छ।

ढुंगेललगायतको मुद्दा फिर्ता लिन तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिस गरे पनि अस्वीकृत भएको थियो।

प्रवक्ता कार्कीले सर्वोच्च अदालतले गरेको निर्णय सरकारले सम्मान गर्नुपर्ने अवस्था रहेको बताउँदै साथसाथै द्वन्द्वकालीन मुद्दाको बारेमा कसरी टुंगो लगाउने भन्ने विषयमा पनि गम्भीर रहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समाजमा दुई वटा मूल्य र मान्यता छन्। दुई पक्षबीच अविराम संघर्ष भइरहेको छ, कहिले सतहमा आउँछ कहिले मुनि पर्छ यसको निरन्तरता चलिरहेको छ।’