३९ टोली आरोही सगरमाथाको आधार शिविरमा


बुद्धवीर बाहिङ, सोलुखुम्बु ।
सगरमाथाको आधारशिविरमा ३९ टोली हिमाल आरोही पुगेका छन् । सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेमा नाम र टोली दर्ता गरी ३९ टोली सगरमाथाको आधारशिविर पुगिसकेको कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए ।

३९ टोलीमध्ये सगरमाथा आरोहणका लागि ३१ टोलीमा २ सय ९४ आरोही रहेका छन् । तीमध्ये दुईवटा टोली भने नेपालीका छन् । त्यस्तै ल्होत्से हिमाल आरोहणका लागि ६ टोलीका ७० आरोही र नुप्चे हिमाल आरोहणको लागि २ टोलीका १९ जना सगरमाथाको आधारशिविरमा छन् ।

सगरमाथा, ल्होत्से र नुप्चे तीनवटै हिमालको आधारशिविर एउटै हो । सगरमाथा आरोहणका अधिकांश आरोहीहरु हाई पचाउनको लागि दोस्रो शिविर जाने तयारीमा रहेको एसपीसीसी नाम्चेका वेशक्याम्प म्यानेजर छिरिङ तेञ्जिङ शेर्पाले बताए । जसका लागि अहिले सामान ओसार पसार भइरहेको म्यानेजर शेर्पाले बताए ।

नाम्चेवाट उकालो लागे ८६ वर्षिय आरोही शेरचन

बृद्धअवस्थामा सगरमाथा चढेको किर्तिमान बनाउन ८६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्न लागेका मिनबहादुर शेरचन आइतबार नाम्चेवाट उकालो लागेका छन् । आईतवार नाम्चे स्थित सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम र टोलीको दर्ता गरी शेरचन आइतबार नाम्चेवाट सगरमाथाको आधारशिविरतर्फ उकालो लागेका हुन् ।

दश वर्षअघि ७६ वर्षको उमेरमा सन् २००८ मे २५ मा सगरमाथा चढेर सगरमाथाको शिखर चुम्ने सबैभन्दा बृद्ध व्यक्तिको पहिचान बनाएका शेरचनको नाम गिनिज बुकमा लेखिएको थियो । तर सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको किर्तिमान भंग गरे । कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः आरोहण प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा भूकम्पका कारण नाम्चेबाटै फर्किएका थिए । शेरचनको आरोहण टोलीमा ९ जना सदस्य रहेका छन्, जसमा ६ जना अनुभवी गाइड छन् ।