भक्तपुरमा बिस्केट जात्राको रौनक



पुष्कर बुढाथोकी
भक्तपुरमा प्रसिद्ध बिस्केट जात्रा शुरु भएको छ। जात्राको शुरुआतसँगै यहाँको रौनकमा स्थानीयवासी झुम्न थालेका छन् तर सुरक्षाको चिन्ता पनि उत्तिकै छ। यो जात्रा नयाँ वर्षको चार दिनअगाडिदेखि पाँच दिनपछिसम्म गरी ८ रात धुमधामका साथ मनाइन्छ। गतहप्ता टौमढीबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा शुरु भएको हो। काठमाडौं उपत्यकाको विभिन्न जात्राहरूभन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा शुरु गरिन्छ।

जात्राको पहिलो दिन काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ। भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि रथ तान्न शुरु गरिन्छ। रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्छन्।

भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न शुरु गरिन्छ। जात्रा सौर्यमासको आधारमा चल्ने गर्दछ। पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोल टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोल क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनःगःहिटीमा पुर्याई जात्रा सम्पन्न गरिन्छ।

जात्रामा रथ तानातान गर्दै हजारौँ स्थानीय बासिन्दाले आ–आफ्नो टोलमा लैजान खोज्छन्। यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ। बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ। बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा मनाइने जात्रामा नेवार समुदायले तात्रिन्क विधिअनुसार भैरव र भद्रकालीको रथ बनाउने गर्दछन्।

चैत्र मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साझपख योसिखेल (भेलुखेल) मा बाजागाजसहित शास्त्रोक्त विधिअनुसार पूजा गरी ५५ हाते लामो लिङ्गो उभ्याइन्छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने प्रचलन रहेको छ। बिस्केट जात्राको पाँचौ दिन अर्थात् नयाँ वर्षको पहिलो दिन वैशाख १ गते लिंगो ढालिन्छ। अष्टमात्रिकाको प्रतिक मानिने लिंगोमा नागनागिनीको प्रतिकस्वरूप हलिंपत ध्वजा बाँधेर फहराइन्छ। त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक–आपसमा जुधाइने परम्परा छ। बिस्केट जात्राको अन्तिम दिन रथ तानेर तौमढी ल्याएपछि सम्पन्न हुन्छ।

किम्वदन्तीअनुसार भक्तपुरका प्रतापी राजाकी छोरीसँग बिहे गर्ने राजकुमारहरू एकै रातमा ज्यान गुमाउँथे। राति सुतेको बेला राजकुमारीको नाकबाट निस्कने नागनागिनी अजिंगर भएर डस्दा ती राजकुमारहरू ज्यान गुमाउँथे। तर एकजना बलवान् राजकुमारले खड्गले काटेर अजिंगरलाई दुई टुक्रा पारिदिए। यसरी नागनागिनी मारिएको खुसीयालीमा यो जात्रा मनाउन थालिएको हो।

जात्रामा नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामो सोझो सल्लाको रुखको गोलो परेको लिङ्गो ठड्याइन्छ। यो लिङगो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याइन्छ। भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्षभाग र हात नीलो कपडाले बेरिएको हुन्छ। लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एक जोडी ध्वजा फुकाइएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ। लिंगो उभ्याउन बाँडिएका आठ डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ।

नेपाल सम्वत २६८ देखि यो जात्रा मनाउन थालिएको संस्कृतिकर्मीहरू बताउँछन्। ईतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रूपान्तरण बिस्केट भएको बताउँदै विको अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतिक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताए। गुठी संस्थानका अनुसार जात्रा अवधिभर जात्रा सञ्चालन हुने क्षेत्रमा लोडसेडिङ हुनेछैन। संस्थानले जात्रामा यो बर्ष झन्डै २६ लाख रुपियाँ खर्च हुने जानकारी दिएको छ। जात्रामा उच्छृङ्खल गतिविधि र हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।
जात्राका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो। जात्राका लागि रथ तान्नेदिन करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। हिंसात्मक घटना घट्न नदिन र त्यस्ता व्यक्तिको निगरानी गर्न सडकको चोक–चोकमा सीसी क्यामरा जडान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणाले जानकारी दिनुभयो। ने.सं. २६८ अर्थात् लिच्छवि कालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले बिस्केट जात्रा विशेषरूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ।

त्यसपछि ने.सं. ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी ८ रात र ९ दिन मनाउने प्रचलन बसाएका हुन्। जात्रा मनाउने यही प्रचलन आजसम्म चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्