चुनावका लागि शान्ति सुरक्षा भरपर्दो छ ः गृहमन्त्री


नेपाल समाचारपत्र
काठमाडौँ
उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाएर काम गरिरहेको बताउनुभएको छ। आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको आइतबारको बैठकमा निधिले निर्वाचनका लागि सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्रका रुपमा किटान गरी त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको र निर्वाचनको सन्दर्भमा स्थानीय तहबाट प्राप्त सुझावका आधारमा जोखिम पहिचान, सुरक्षा विश्लेषण र रणनीति तय गरिएको जानकारी दिनुभयो।
यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा २ लाख ३१ हजार सुरक्षा फौज खटिने र गृह मन्त्रालयले सुरक्षा निकायबीचमा समन्वय, चेन अफ कमान्डसहितको सुरक्षा योजना बनाएको छ।

गृहमन्त्री निधिले पछिल्लो संविधान संशोधन प्रस्ताव पारित गर्न नेकपा (एमाले)ले सहयोग गर्ने तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागका सम्बन्धमा अलिकति लचकता देखाउने हो भने एकैसाथ मुलुकभर निर्वाचनको वातावरण बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

समितिकै बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनका लागि आयोगले ६२ जिल्लाका १ करोड ३२ लाख मतपत्र छपाइएको जानकारी दिनुभयो।