४२ लाखभन्दा बढी नेपालीद्वारा घुमफिर


दीपेन्द्र थापा, काठमाडौं

पाल पर्यटन बोर्डले आन्तरिक ‘घुमफिर वर्ष–२०७३’ साल सफल रहेको दाबी गरेको छ। शुरूका दिनमा कार्यक्रम प्रभावकारी नदेखिए पनि पछिल्ला महिनामा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको बोर्डले दाबी गरेको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले शुरूआतमा ‘घुमफिर वर्ष–२०७३’ मा उत्साहजनक सहभागिता नदेखिए पनि विस्तारै चहलपहल बढेसंँगै वर्षको मध्यम समयबाट वृद्धि हुँदै गएको बताउनुभयो। भूकम्प र नाकाबन्दीबाट धराशयी बनेको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्धेश्यले शुरू गरिएको ‘घुमफिर वर्ष–२०७३’ ले आन्तरिक पर्यटनलाई मात्र नभई समग्र पर्यटन उद्योगलाई नै टेवा पुर्याएको जोशीको भनाइ छ।

‘शुरूमा केही महिना आन्तरिक पर्यटकले लक्ष्यअनुसार घुमफिर गर्ने जस्तो देखिएको थिएन,’ प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो–‘तर विस्तारै आन्तरिक पर्यटनमा जाने नेपालीको संख्या बढ्दै गयो। अहिले कार्यक्रमको औचित्य पुष्टि भएको छ। घुमफिर वर्ष सफल बनाउनमा सामाजिक सञ्जालको प्रयोग र सञ्चारमाध्यमको पनि ठूलो सहयोग रहेको छ।’

बोर्डसँग ‘घुमफिर वर्ष २०७३’ को अहिलेसम्म आन्तरिक पर्यटनले कतिले भ्रमण गरे भन्ने यकिन तथ्यांक नभए पनि माघसम्म ४२ लाख ६ हजार आन्तरिक पर्यटकले घुमफिर गरेका छन्। सबैभन्दा बढी घुमिने ठाउँमा गोरखाको मनकामना रहेको छ। यस अवधिमा ११ लाख पर्यटक त्यहाँ पुगेका थिए। मुख्यरूपमा घुमफिर गरेको क्षेत्रलाई आधार मानेर पार्क, आरक्षण, निकुञ्ज तथा मेला महोत्सवमा हुने गरेको चहलपहलबाट तथ्यांक संकलन गरिएको बोर्डका अधिकृत सुदन सुवेदीले बताउनुभयो। पर्यटन व्यवसायीले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताले आन्तरिक पर्यटनले मात्र व्यवसाय धानिरहेको जनाई रहँदा यो तथ्यांक सार्वजनिक भएको हो। सुवेदीका अनुसार लुम्बिनीमा ७ लाख, खोटाङको हलेसीमा ५ लाख, पोखरा ४ लाख र ३ लाख जनकपुर पुगेका छन्।

भूकम्पपछि बाह्य पर्यटकको आगमन शून्य प्रायः भएपछि पर्यटन उद्योगलाई चलायमान बनाउने लक्ष्यका साथ बोर्डले यो कार्यक्रम घोषणा गरेको थियो। भूकम्प र नाकाबन्दीबाट सुस्ताएको पर्यटन व्यवसायलाई पुरानो लयमा फर्काउने उद्धेश्यले नेपाल पर्यटन बोर्डले ‘घुमफिर वर्ष–२०७३’ मनाउने निर्णय गरेको थियो।

पछिल्लो तीन महिनाको तथ्यांक भने बोर्डले सार्वजनिक गरेको छैन। ‘अझै पूर्ण तथ्यांक आएको छैन, माघ महिनासम्मको तथ्यांकको अनुपात हेर्दा तीन महिनामा २० देखि २५ प्रतिशतले वृद्धि हुने अनुमान गरेका छँंै।’ अधिकृत सुवेदीले बताउनुभयो।
स्वदेशी पर्यटन प्रवद्र्धन गर्ने र आन्तरिक पर्यटन घुमफिरको वातावरण सिर्जना गर्ने उद्धेश्यले चलाइएको कार्यक्रम सफल रहेको बोर्डको दाबी छ।

होटल संघ नेपाल (हान) का निर्देशक प्रवेश अर्यालले भने ‘घुमफिर वर्ष–२०७३’ नारामा नै सीमित रहेको बताउनुभएको छ।

अर्यालले भन्नुभयो–‘४२ लाखको तथ्यांक भनेको पहिला पनि आन्तरिक रूपमा घुमफिर गरिरहेको तथ्यांक हो। अहिले तथ्यांक संकलन गरेका कारण धेरैजस्तो लागेको हो, सामान्य रूपमा यो तथ्यांकको हाराहारीमा आन्तरिक पर्यटक घुमफिर भइरहेका नै थिए। पर्याप्त प्रचार प्रसार गरिएको भए यो तथ्यांक धेरै बढ्ने थियो। नारा मात्र सार्वजनिक गरेर बोर्डले काम नगरेको उहाँको भनाइ छ।’

‘घुमफिर वर्ष–२०७३’ को प्रभावकारीता आउने वर्षमा बढी देखिनेछ , कुनै न कुनै शहर वा ठाउँ पहिचान गरी कार्यक्रमलाई निरन्तरता दिँदै जाने बोर्डको भनाइ रहेको छ।

अहिले गरिएको प्रचारप्रसारको कार्यक्रमको प्रभाव तत्कालभन्दा पनि केही समयपछि देखिन्छ अधिकृत सुवेदीले भन्नुभयो–‘यस्तै कार्यक्रम आउँदा वर्षमा पछि हुन्छन् अभियान भनेर कुनै नाम नदिए पनि यस्तै कार्यक्रमलाई बोर्डले निरन्तरता दिइरहन्छ।’