नेपाल–चीन सैन्य अभ्यास शुरू



काठमाडौं, (नेस)
नेपाली सेना र मित्र राष्ट्र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास शुरू भएको छ। आइतबार महाराजगन्जस्थित सैनिक ब्यारेकमा आयोजित विशेष कार्यक्रमका बीच व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले शुभारम्भ गर्नुभयो।

संयुक्त तालिम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच प्रथमपटक सञ्चालन हुन लागेको सैन्य तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुनुको साथै मित्रवत् सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ जनमुक्ति सेनाका कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे बताउनुहुँदै यस प्रकारका तालिमले प्रतिआतंकवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशबीचको आपसी सम्बन्ध अरू मजबुत हुने विश्वास गर्नुभयो।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपालका लागि चिनियाँ सैनिक सहचारी तथा दुवै देशबाट उक्त संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

‘सगरमाथा फ्रेन्डसिप–२०१७’ नाम दिइएको उक्त संयुक्त सैन्य तालिम वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्