खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो


बुद्धवीर बाहिङ, सोलुखुम्बु

जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटक तथा हिमाल आरोहीको चलहपहल विगतको तुलनामा यसपटक ह्वात्तै बढेको छ। हिमपहिरो र भूकम्पका कारण अघिल्लो वर्ष घटेको खुम्बु क्षेत्रको पर्यटक यसपटक ह्वात्तै बढेको हो।

हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा यत्तिबेला पर्यटक तथा हिमाल आरोहीको निक्कै चहलपहल बढेको छ। तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै फाक्दिङ, जोरसल्ले, नाम्चेबजार, खुम्जुङ, त्यङबोचे, दिबुचे, पाङबोचे, सोमारे, फेरिचे, दिङबोचे, छुकुङ, थुक्ला, लबुचे, गोरक्सेप र सगरमाथाको आधार शिविरमा हजारौं पर्यटक तथा हिमाल आरोहीको चहलपहल ह्वात्तै बढेको छ।

लुक्ला बजार हुँदै खुम्बु क्षेत्र भ्रमणमा जाने पर्यटकका कारण जोरसल्लेमा पनि गत वर्षको तुलनामा यस वर्ष पर्यटकको चाप ह्वात्तै बढेको छ। जोरसल्लेमा दैनिक ७० जनाभन्दा बढी पर्यटक बास बस्ने गरेको रिभरभ्यू होटल एन्ड लजका सञ्चालक दावा जाङमु शेर्पाले बताउनुभयो।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे बजारमा प्रायः होटल तथा लजमा पर्यटकको चहलपहल दिन प्रतिदिन बढिरहेको छ। सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटकहरू उच्च हावापानी पचाउनको लागि नाम्चेबजारमा दुई दिनसम्म बस्ने गरेकाले पनि पर्यटकको दिन प्रतिदिन चहलपहल बढेको हो। जाम्बाला होममा मात्रै दैनिक २० देखि २५ जनासम्म पर्यटक बास बस्न आउने गरेको सञ्चालक लामाकाजी शेर्पाले जानकारी दिनुभयो।
खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटक मात्र होइन विभिन्न हिमाल आरोहण गर्ने आरोहण दलका सदस्यसमेत गत वर्षको सिजनभन्दा यस वर्षको सिजनमा चाँडै खुम्बु क्षेत्रमा प्रवेश गरेका छन्।

अहिलेसम्ममा २४ हिमाल आरोहण दलले खुम्बु प्रवेश गरेका छन्। यी २४ आरोहण दलमध्ये २० सगरमाथा, २ लोत्से, २ नुप्चे हिमालको आरोहण गर्नको लागि सगरमाथा प्रदुर्षण नियन्त्रण समिति (एसपीसीसी) मा आरोहण दलको नाम दर्ता गराएको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो।

यो वर्षको स्प्रिङ सिजनको शुरूमै खुम्बु क्षेत्रमा पर्यटकहरूको चाप पहिलेको वर्षभन्दा बढेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका लेखा अधिकृत राजेश काफ्लेले बताउनुभयो। गत वर्षको स्प्रिङ सिजनभन्दा यस वर्षको सिजनमा चाँडै पर्यटकको चहलपहल बढेको हो।

हिमपहिरो र भूकम्पका कारण थलिएको खुम्बु क्षेत्रको पर्यटन व्यवसाय यस वर्षदेखि विस्तारै लयमा फर्किदै छ। हवाई जहाजबाट मात्रै खुम्बु क्षेत्रमा दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन्। गएको ३ वर्षको तुलनामा यस वर्ष चाँडै पर्यटकको चाप बढेको लुक्लाका पर्यटन व्यवसायीको भनाइ छ।

गत वर्षको जनवरीमा ५ सय ८९ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए, भने यस वर्षको जनवरीमा १ हजार २ सय ९७ जनाले भ्रमण गरेका छन्। त्यस्तै गत वर्षको फेब्रुअरीमा १ हजार ७८ जना थिए, भने यस वर्षको फेब्रुअरीमा १ हजार ३ सय ६३ जना, गत वर्षको मार्चमा ३ हजार ८ सय ४ जना थिए। यस वर्षको मार्च महिनामा ५ हजार ५८ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्।