चट्याङले तीनको मृत्यु



धनकुटा, (नेस)
हावाहुरीसँगै परेको चट्याङ लागेर शनिबार दिउँसो धनकुटामा २ जनाको ज्यान गएको छ। दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङकी ३६ वर्षीया छत्रकुमारी राई र साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेकी २४ वर्षीया कृष्ण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदीप राजभण्डारीले बताउनुभयो। कृष्ण राईलाई मोबाइलमा कुराकानी गरी रहेको अवस्थामा चट्याङ लागेको थियो भने छत्रकुमारीको साथमा पनि मोबाइल रहेको प्रहरीले बताएको छ।

चट्याङ लागेर मृत्यु भएका दुवै जनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ। उनीहरूको शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ। चट्याङ लागेर दुवै जनाको घटनास्थलमा नै ज्यान गएको थियो।

यस्तै इलाम संवाददाताका अनुसार देउमाई नगरपालिका–२ मा एक युवकको शनिबार चट्याङ लागेर ज्यान गएको छ। घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल लग्दैै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्