सन्तोष खनाल, काठमाडौं
चलनचल्तीमा अंग्रेजको देश भनेर चिनिने बेलायतको एक विश्वविद्यालयमा संस्कृत भाषाप्रति निकै लगाव छ। र, त्यो विश्वविद्यालयमा संस्कृत पढाउनुहुन्छ– नेपाली गुरु। उहाँ आफ्ना विद्यार्थीलाई संस्कृतमै खोज तथा अनुसन्धान गराउनुहुन्छ। नेपालमाथि नै उहाँको खोज केन्द्रित हुन्छ।
कुरा बेलायतस्थित विश्व चर्चित अक्सफोर्ड विश्वविद्यालयको हो र नेपाली गुरु हुनुहुन्छ– डा. दिवाकर आचार्य। उहाँ नेपालबाटै पहिलो व्यक्ति हुनुहुन्छ जो त्यहाँ एसिया सेक्सनमा पूर्वीय धर्म तथा नीतिशास्त्र पढाउनुहुन्छ। भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णनले समेत सो विश्वविद्यालयमा पहिला संस्कृत पढाउनुभएको थियो। आचार्यले पहिला जापानको क्योटो विश्वविद्यालयमा संस्कृत पढाउनुभएकोमा पछि अक्सफोर्डमा पढाउने अवसर मिलेको हो।
डा. आचार्य अक्सफोर्डमा संस्कृत विषय पढाउने पहिलो नेपाली र दक्षिण एसियाबाट तेस्रो व्यक्ति हुनुभएको छ। नेपालमा संस्कृत शिक्षालाई लिएर विगतको माओवादी युद्धका क्रममा विवाद झिकिएको थियो। एक मात्र संस्कृत विश्वविद्यालय राजनीतिक दलको भागबन्डाले थिलथिलो भएको अवस्थामा यहीं पढेर संस्कृत शिक्षाबाटै डा. आचार्यलाई अवसर प्राप्त भएको हो।
उहाँले जर्मनीबाट वेदान्त दर्शनमा विद्यावारिधि गर्नुभएको हो।
डा. आचार्यले अनुसन्धानमूलक पढाइ हुने भएकाले बेलायतजस्ता मुलुकमा संस्कृत मोह बढेको बताउनुभयो। उहाँले संस्कृतको ज्ञान नभई दक्षिण एसियाको इतिहास बुझ्न नसकिने अवस्थाले गर्दा पनि मान्छेमा संस्कृतको मोह जागेको बताउनुभयो। बेलायतमा संस्कृतप्रति विश्वास गर्ने र विज्ञानका रूपमा मान्नेको लहर देखिएको बताउँदै उहाँले भन्नुभयो– ‘विज्ञानको आस्था भएकाहरू शिक्षित भएपछि सनातन हिन्दु धर्मको अनुसन्धानमा लाग्ने गरेका छन्।’
धर्मको विज्ञान बुझेकाहरू रामभक्त वा कृष्णभक्त जस्तो हुनेभन्दा पनि धर्मले दिएको शिक्षाको विषयमा गहिरो अध्ययन गर्ने र पछि सनातन हिन्दु धर्मप्रति आस्था जगाउने गरेको बताउनुभयो। ‘संस्कृतको पुरानो ग्रन्थ राखेर पढाउने गरिन्छ र त्यहाँका मान्छेहरू शिक्षित हुँदै गएपछि हिन्दु धर्म र संस्कृतको विश्वास गर्ने गरेको पाएको छु’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘इसाईहरू सनातन हिन्दु धर्म र संस्कृत भाषाका बारेमा अध्ययन अनुसन्धान गरेपछि हिन्दु वा बौद्ध हुने गरेको समेत पाइएको छ।’
उहाँ मात्र होइन नेपाल संस्कृत विश्वविद्यालयकै पूर्वप्राध्यापक अलका आत्रेय चुडाल भियना विश्वविद्यालयको स्थायी लेक्चरर भएर संस्कृत पढाउँदै आउनुभएको छ। अर्का प्राध्यापक स्थानेश्वर तिमल्सिना पनि नेपाल संस्कृत विश्वविद्यालय छाडेर जर्मनीमा संस्कृतको अध्यापन तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ।
बेलायतसँगै जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयलगायत त्यहाँका १४ वटा विश्वविद्यालयमा हरेक दिन बिहान वैदिक मंगलोचारणको ध्वनि सुनिन्छ। कलेजका विद्यार्थीहरू संस्कृतमै संवाद गर्छन्। परम्परागत भाषा र विचार विभागका प्रमुख डा. अलेक्स मिखायलले प्रयोगका रूपमा एक दशकअघि शुरू गरेको संस्कृत भाषाको पढाइ हाइडेलबर्ग विश्वविद्यालयमा अहिले जरा गाडेर बसेको छ। ३४ देशका विद्यार्थीहरूले पढिरहेको कलेजमा विद्यार्थी फालाफाल छन्।
संस्कृत भाषा मात्रै जान्दा पनि हजारौं वर्षअघिको भारत वर्षमा प्रचलित औषधि विज्ञानको ज्ञान पाउने गरेको त्यहाँका अनुसन्धानकर्ताको तर्क रहेको छ। संस्कृत भाषाबाट बोलीको उच्चारण क्षमताका साथसाथै मस्तिष्कको विकासमा पर्ने सकारात्मक प्रभावलाई नै बुझेर अहिले पश्चिमी देशहरूमा संस्कृत भाषाको पठनपाठन भइरहेको जानकारहरूको तर्क छ।
प्रतिक्रिया