बाँकेको अधिकांश वडामा एमालेको सर्वसम्मत उम्मेदवार


नेपाल समाचारपत्र, बाँके । नेकपा एमाले, बाँकेले अधिकांश वडाको उम्मेदवार सर्वसम्मत गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिकाको ८२ वडा रहेको बाँकेमा एमालेले अधिकांश सर्वसम्मत गरेको हो । सर्वसम्मत हुन नसकेको ठाउँबाट बढीमा तीन जनाको नाम जिल्लामा आएको सचिव रत्न खत्रीले बताउनुभयो ।
सचिव खत्रीका अनुसार, नरैनापुर र डुडुवा गाउँपालिकामा वडा तहको उम्मेदवार सर्वसम्मत टुंगिएको छ । बैजापुरमा आठमध्ये सात, खजुरामा आठ मध्ये सात, जानकीमा ६ मध्ये ५ वडाको सर्वसम्मत भएको छ । त्यस्तै, नेपालगञ्जमा २३ मध्ये ५, कोहलपुरमा १५ मध्ये १० जना सर्वसम्मत भएका छन् । राप्तीसोनरीमा सबैजसोमा बढी आकांक्षी देखिएकाले शनिबार अबेरसम्म टुंग्याउने प्रयास भएको थियो ।
धेरैजसो वडामा सर्वसम्मत उम्मेदवार छनौट भएकाले घातप्रतिघातको संभावना कम भएको नेताहरु बताउँछन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका दलले पनि वडा तहको उम्मेदवार सर्वसम्मतमा जोड दिइरहेका छन् ।
यसैबीच, खजुराखुर्दका सादत अलि बागवान एमालेमा प्रवेश गरेका छन् ।
२०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष जितेका बागवान शनिबार एमालेमा प्रवेश गरेक हुन् । साहदतपुरका दुई सय घर मुस्लिम घर रहेकोमा शनिबार बागवानले सय जनालाई आफूसँगै एमालेमा प्रवेश गराएका छन् । एमालेका जिल्ला सचिव रत्न खत्रीले बागवानलाई अविर टीका लगाएर पार्टी प्रवेश गराउनुभयो ।
बैशाख ३१ गते नजिकिदै जादा विभिन्न पार्टीमा रहेकाहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् । विशेष गरेर मधेसी, मुस्लिम समुदायका मानिसहरु एमालेमा प्रवेश गरिरहेका छन् । केही मधेसी दलहरुले एमालेलाई गालीगलौच गरिरहेपनि मधेसी मुस्लिम जनताको लहर भने एमालेप्रति देखिएको छ । तराई मधेसको विकासमा एमालेले खेलेको भूमिकाप्रति मधेसी मुस्लिम समुदायको विश्वास बढेको नेताहरु बताउँछन् ।