डोटीमा काग्रेस, एमाले बीच नै प्रतिस्पर्धा


विमल विष्ट,  डोटी
आसन्न स्थानीय तहको निर्वाचनमा डोटीमा काग्रेस तथा एमाले बीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेपनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरुले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

दुई निर्वाचन क्षेत्र भएको डोटीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस र एमालेले एक÷ एक सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एक र एमालेले एक सिट जितेका थिए ।

त्यस्तै २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको दिपायल सिलगढी नगरपालिकाको प्रमुख र काग्रेसले जिल्ला विकास समितिको सभापति, लगायत बहुमत गाविसका अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडासदस्य जितेको थियो । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो । सबै दल योग्य उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छ । नेकपा एमालेले डा.केआईसिंह, जोरायल, बोगटान गाउँपालिका र शिखर नगरपालिकामा उम्मेदवार छानी सकेको छ ।
त्यस्तै काग्रेस र माओबादी केन्द्रले उमेदवार छान्न संयोजक तोकेका छन् । संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाइने काग्रेसका पदम रावतले जानकारी दिनुभयो ।