पाथीभारा मन्दिरमा दशर्नार्थीको घुँइचो


जयकुमार महर्जन
ललितपुर

यस जिल्लास्थित साविक नल्लु गाविस वडा नं.६ हाल कन्जुसम गाउँपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध पाथीभारा देवीको मन्दिरमा दशर्नार्थीहरूको घुँइचो लागेको छ।

विशेष गरी हरेक वर्ष नयाँ वर्षको दिन ठूलो मेला लाग्ने गरेको पाथीभारा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर घलानले जानकारी दिनुभयो।

पाथीभारा मन्दिर समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटर अग्लो डाडामा अवस्थित छ। स्थानीय वासिन्दाहरूको सक्रियतामा २०६८ साल चैत १० गते स्थापना गरिएको उक्त मन्दिरमा पाथीभारा देवीको विशाल मूर्ति रहेको छ। दुई डाडाकोबीचमा रहेको उक्त मन्दिर वरिपरीको दृश्यले यहाँ आउँने भक्तजनहरूलाई निकै रोमाञ्चक बनाउने गरेको छ।

पाथीभारा देवीको दर्शन गर्नाले मनोकामना पूरा हुने र निरोगी हुने जनविश्वास रहको छ। यही जनविश्वासका कारण यहाँ धेरै टाढाटाढाबाट भक्तजनहरू दर्शनको लागि आउने गरेका छन्।

नेपाल समाचारपत्रको जिज्ञासामा यहाँ आएका भक्तजनहरूले मनले चिताएको पूरा हुने भएकोले कठिन बाटोका पर्वाह नगरी देवीको दर्शनका लागि आएको बताए।

समितिका अध्यक्ष घलानले दिएको जानकारीअनुसार यो मन्दिरमा दिनदिनै दर्शनार्थीहरूको संख्या बढ्दै गइरहेको र भक्तजनहरूको सुविधाका लागि पाटीपौवा निमार्ण गर्ने, खानेपानीको व्यवस्था तथा बाटोघाटोको राम्रो प्रबन्ध गर्न विशेष पहल भइरहेको छ। यहाँसम्म पुग्ने बाटो अलि कठिन भएकोले बाटो फराकिलो पार्ने तथा पर्याप्त बजेट आएमा कालोपत्र गर्नेसमेत योजना रहेको बताइएको छ। जिल्लाको अति दुर्गम भेगमा रहेको यो मन्दिर पर्याप्त प्रचारप्रसारको अभावले गर्दा आन्तरिक र बा≈य पर्यटकहरूको नजरमा टाढै रहेको छ। यसको संचारमाध्यमबाट प्रचारप्रसार गर्नसके यो क्षेत्र प्रसिद्ध तीथस्थलको रूपमा विकास गर्न सकिन्छ।

अध्यक्ष घलानले निकट भविष्यमै यस ठाउँको प्रचारप्रसारका लागि सप्ताहको आयोजना गरिन लागेको पनि बताउनुभयो। सप्ताहपछि यहाँको प्रचारप्रसार व्यापक मात्रामा हुने तथा मन्दिर व्यवस्थापन गर्न पर्याप्त बजेटको व्यवस्था पनि हुने उहाँले बताउनुभयो।