‘चुनावमा जाऊ’-मोर्चालाई भारतको सुझाव



काठमाडौं, (नेस)
सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतका तर्फबाट दबाब दिइएको पाइएको छ। सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ।

शुक्रबार नयाँ वर्षको शुभकामना दिँदै भारतीय राजदूत मञ्जिभसिंह पुरीले मधेसी मोर्चाका नेताहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको थियो। मोर्चाका नेताहरूसँग भएको टेलिफोन संवादमा उहाँले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको हो।

यसअघि पनि मधेसी मोर्चाका नेताहरूलाई भारतीय राजदूत पुरीले भेटघाटको क्रममा निर्वाचनमा भाग लिन आग्रह गर्दै आउनुभएको छ। चैत्र ३० गते साँझ मधेसी मोर्चाका नेताहरूसँगको भेटघाटमा राजदूत पुरीले संविधान संशोधनको नयाँ प्रस्ताव स्वीकार गरी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको थियो।
मधेसी मोर्चाले निर्वाचनको विरोधमा गरेको आन्दोलनको घोषणालाई भारतीय पक्षले नरुचाएको स्रोतले जनाएको छ।

यता नयाँ संशोधन प्रस्तावको विरोध गर्दै आन्दोलनको घाषणा गरेको मधेसी मोर्चाले आन्दोलनकै क्रममा पार्टीहरूबीच एकीकरण हुने जनाएको छ।
मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच वैशाखको पहिलो साता नै एकीकरण हुने जनाइएको छ। नयाँ शक्तिका तर्फबाट एकीकरणको संयोजन गरिरहेका नेता रामचन्द्र झाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वैशाखको पहिलो साताभित्रै एकीकरण हुन्छ। एकीकरणको तयारी पूरा भइसकेको छ। अन्य पदाधिकारीका विषयमा एक÷दुई दिनभित्रै टुंगो लाग्नेछ।’

त्यस्तै, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले वैशाखको पहिलो साता नै अन्य साना पार्टीहरूसँग एकीकरण गर्दै छ। पार्टीका महासचिव भरतेन्दु मल्लिकले दिनुभएको जानकारीअनुसार वैशाखको पहिलो साता थारू क्षेत्रमा सक्रिय पार्टीहरूसहित अन्य साना पार्टीहरूसँग पनि एकीकरण हुँदै छ।

मधेसी मोर्चामा रहेका दलहरूबीच एकीकरणका लागि औपचारिक छलफल शुरू भए पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। वैशाखको पहिलो साताबाट एकीकरणका लागि बुँदागतरूपमा अगाडि बढ्ने र मोर्चाका सम्पूर्ण दलका अध्यक्षहरूबीच एकीकरणको विषयमा छलफल भइरहेको सद्भावना पार्टीका नेता उपेन्द्र महतोले बताउनुभयो। उहाँले एकीकरणका विषयमा पार्टीका अध्यक्षहरू स्वयं सक्रिय भएको जानकारी दिनुभयो।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार आन्दोलनकै क्रममा मधेसी मोर्चाका दलहरूबीच एकीकरण हुनेछ। झाले अहिले एकीकरणको प्रक्रिया अगाडि बढेको बताउँदै सडकबाटै मोर्चाभित्रको दलहरूको एकीकरण भएको घोषणा हुनसक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्