नक्सा पासै नगरी राष्ट्रपति निवास



मधुसूदन रायमाझी, काठमाडौं
राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ। भवन निर्माण गर्दा काठमाडौं महानगरपालिबाट नक्सा पासको स्वीकृति अनिवार्यरूपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो।

संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ। नियमअनुसार राष्ट्रपतिको निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो। तर, राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिई कन्सल्टेन्सीमार्फत् डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको स्रोतले बतायो।

काठमाडौं महानगरपालिका शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले राष्ट्रपतिको निवासको नक्सा पास नभएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भवन निर्माण गर्न महानगरपालिकासँग अनिवार्यरूपमा नक्सा पासको स्वीकृति लिनुपर्छ तर राष्ट्रपति निवासको नक्सा पास महानगरपालिकाबाट भएको छैन।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिहरू बस्ने निवासको डिजाइन विभागले गर्दै आएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले काठमाडौं महानरपालिकासँग नक्सा पासको स्वीकृति लिएको जानकारी आफूलाई नभएको बताउनुभयो। ‘नक्सा पासको स्वीकृति लिनुपर्ने हो, यसबारेमा मलाई जानकारी छैन, आएको ६ महिना मात्र भयो’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रपति निवास निर्माण गर्न राष्ट्रपति कार्यालयले नै टेन्डर गरेको हो।’

भवन भूकम्प प्रतिरोधी भएको बताउँदै प्रवक्ता वाग्लेले भवन निर्माणको क्रममा शहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरेर काम गरेको बताउनुभयो। विभागले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै २०६७ सालमा डिजाइन र निर्माण आफूले गर्ने प्रस्ताव राखे पनि राष्ट्रपति कार्यालयले बेवास्ता गर्दै डिजाइन र निर्माणको काम आफैंले अगाडि बढाएको थियो।

झण्डै पाँच बर्ष लगाएर निर्माण गरिएको राष्ट्रपति निवास अत्याधुनिक रुपमा निर्माण गरिएको छ। भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी गत माघ ७ देखि बस्दै आउनुभएको छ। भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आउनुभएको थियो। राष्ट्रपति कार्यालयका अनुसार निवासमा चार ब्लक रहेका छन्। जसलाई ए, बी, सी र डी नाम दिइएको छ।

जसअनुसार सबैभन्दा ठूलो ५ तले ए ब्लकमा राष्ट्रपति बस्दै आउनुभएको छ।

मुलुकमा कुनै आपत्कालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने गरी बनाइएको भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो। राष्ट्रपति कार्यालयका अनुसार हालसम्म भवन निर्माणको लागिे ६२ करोड५० लाख रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्