मुसहर बस्तीमा खुसी


धुर्मुस–सुन्तली प्रतिष्ठानले शुक्रबार मुसहर बस्तीको साँचो हस्तान्तरण गरेपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ।

लक्ष्मीकुमार साह, महोत्तरी

नयाँ वर्ष २०७४ को आगमनसँगै बर्दिबास–२ स्थित मुसहर समुदायको दिन फेरिएको छ। महोत्तरी जिल्लाको बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण गरिएपछि उनीहरूको दिन फेरिएको हो। धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमुना मुसहर बस्ती शुक्रबार एक भव्य समारोहका बीच हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमार्फत् मुसहर बस्तीका अध्यक्ष विल्टु सदा मुसहरलाई साँचो हस्तान्तरण गरेपछि उनीहरूको मुहारमा हासो छाएको छ।

नेपाली हास्य कला क्षेत्रका अगुवा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले ५३ घर–परिवारका मुसहरलाई घरको साँचो हस्तान्तरण गर्नुभएको छ। बस्तीभित्र ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, दीनभद्री मन्दिर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नालाहरू रहेका छन्। बस्तीको बीचमा ३५ फिट अग्लो भ्यु टावर रहेको छ।

नयाँ वर्षमा मनाइने मिथिलाको पर्व जुडशीतल नयाँ घरमा मनाउन पाइने कुराले मन्दीप सदा निकै उत्साहित भएका छन्। पुस्तौंदेखि पराले झोपडीमा जीवन गुजारेको मुसहर समुदाय आफ्ना लागि धुर्मुस र सुन्तली भगवान् भएर आउँदा दंग छ। बस्तीकी रामकली सदाले अब सासू–ससुरा, छोरा–बुहारी र पाहुनाले एउटै झोपडीमा सुत्नुपर्ने अवस्था नभएको बताइन्।

बस्तीमै निर्माण गरिएको भ्यु टावर नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी र सामाजिक अभियन्ता रामअशिष यादवले संयुक्तरूपमा हस्तान्तरण गरेका छन् भने मुसहरका कुलदेवता दीनाभद्रीको मन्दिर र बालउद्यान सुन्तली र धुर्मुसका आमा–बुबाले हस्तान्तरण गरेका छन्।

मुसहर बस्तीमा थप आम्दानीका लागि बर्दिबास, ढल्केवरसहितको सुन्दर दृश्य देखिने गरी ३५ फिट अग्लो भ्यु टावरसमेत निर्माण गरिएको छ। सो बस्ती निर्माणका लागि ६ करोड ३६ लाख ३९ हजार रुपियाँ सहयोग भएकोमा बस्तीको पूरै संरचना निर्माण गर्न ५ करोड ४ लाख ३६ हजार खर्च भएको फाउन्डेसनले जनाएको छ।

भूकुम्पपीडित सिन्धुपाल्चोकको गिरानचौरमा घर निर्माण गर्न संकलन गरेको रकमबाट बचेको रकम र थप रकम विभिन्न दाताबाट संकलन गरी मुसहर बस्ती निर्माण गरिएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बताए।

‘आफूले सोचेकै दिन बस्ती निर्माणको काम सम्पन्न भएर तोकिएकै दिन बस्ती हस्तान्तरण गर्न पाएकोमा म आफू पनि खुसी महसुस गर्दछु र मलाई साथ दिने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’ –उनले भने। बस्तीको घर निर्माण सम्पन्न भएसँगै मुसहरमा सामाजिक चेतना, शिक्षा एवं नागरिक अधिकार र कर्तव्यसमेत बढेको देखिन्छ।