काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ,–“लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गर्दछु ।” राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु हुन्न भन्नुभएको छ ।
सन्देशमा उहाँले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस
प्रतिक्रिया