काठमाडौँ, ३१ चैत । सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुङ्गेललाई अविलम्ब पक्राउ गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई आज लिखित निर्देशन पठाएको छ ।
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय हुने ठहरी २०६६ पुस १९ गते भएको फैसलाबमोजिम निजको बेरुजु कैद १२ वर्ष पाँच महिना २२ दिन असूलउपर गर्न कसुरदार ढुङ्गेललाई अविलम्ब पक्राउ गरी कैद राख्ने व्यवस्था गर्न निर्देशनपत्रमा भनिएको छ ।
लिखित निर्देशनमा अदालतबाट सर्वस्वसहितको जन्मकैद फैसला सुनाइएका कसुरदार ढुङ्गेललाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न सहयोग गर्ने काम सरकारबाट नभएको र गृह प्रशासनबाट समेत मातहत प्रहरी निकायलाई अदालतको फैसला कार्यान्वयन गर्नेतर्फ ठोस आदेश तथा निर्देशन नभएको महसुस हुन आएको पनि पत्रमा उल्लेख छ ।
ढुङ्गेलको “सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेशलाई खारेज गरिदिन्छु” जस्ता अभिव्यक्तिले सर्वसाधारणमा अदालतप्रति अनास्था सिर्जना गरी अदालतको फैसलालाई नमान्ने स्थितिको सिर्जना गराएको उल्लेख छ ।
यसैबीच आजै सर्वोच्च अदालतले पूर्वसभासद् ढुङ्गेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र पक्राउ गरी कैद गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो । ढुङ्गेलले सार्वजनिक स्थानमा आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउने तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले बुधबार अदालतमा मुद्दा दायर गर्नुभएको थियो । रासस
प्रतिक्रिया