आकस्मिक अनुगमनमा कृषि मन्त्री


काठमाडौ, (नेस) ।

कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । उनले बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् ।

बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अबलोकन गरेका थिए ।

अनुगमन पछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आबस्यकता रहेको प्रतिक्रिया दिए ।

सरकारको सहयोग बिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग जारी रहने समेत बताए ।

अनुगमनमा मन्त्री संगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए ।

उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।