बिस्केट जात्रामा ढुंगा हान्ने ५ पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमा जारी ऐतिहासिक तथा महान् पर्व बिस्केट जात्राको भैरवनाथ रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने ५ जनालाई मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ६ बस्ने बर्ष ३० का श्याम कृष्ण शाही, क्वाछे बस्ने बर्ष १८ को संजिव फाँसिखो, तोलाछे बस्ने बर्ष २२ को सगुन प्रजापती, च्यामासिंह बस्ने बर्ष २६ को अविनब प्रजापती रहेका छन् ।

यसैगरी ललितपुर जिल्ला वडिखेल ७ घर भई हाल भक्तपुर जिल्ला सुर्यबिनायक बस्ने बर्ष २१ को विकेश पहरीलाई हातमा खुकुरी लिई जात्रामा हिडेको बेलामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएका ब्यक्ति उपर थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो ।
गए राती बिस्केट जात्रा अन्तर्गत भैरबको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ४ प्रहरी सहित ११ जना घाइते भएका थिए । घाईते मध्ये प्रहरी नायब निरीक्षक सरोज खत्रीकोे भक्तपुर अस्पतालमा उपचार हुन नसके पछि प्रहरी अस्पताल पठाईएको र अन्य घाईतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी नायब उपरीक्षक प्रसाईले बताउनुभयो ।
भैरबको रथ तान्ने क्रममा रथलाई माथिको बासिन्दाले गोल्मढी पुर्याएकोमा रथलाई पुन ः तलका बासिन्दाले तानेर तौमढी ल्याईए पछि राती नौ बजेबाट ढुङ्गा हानाहानमा भएको थियो । घाईते हुनेमा प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजन कुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दाहरु मध्ये सुरज ठकुरी, भनपा ३ का सुरेश जटुजु, भनपा १३ का शिक्षिज धुकुवा,बंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी संजिव मधीकर्मी, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।

ढुङ्गा हानाहान मध्यरातीसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारी रथलाई तौमढीबाट तानेर गःहिटी पुर्याएको थियो ।आठ रात नौ दिनसम्म मनाईने बिस्केट जात्राको पहिलो दिन भैरबको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्