सुरु भयो आठरात नौ दिन मनाईने बिस्केटजात्रा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नयाँवर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा सोमबारदेखि सुरु भएको छ । अपरान्ह ५ बजे तौमढीबाट भैरब नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको छ ।

बिहान ५ बजे भैरबको पूजा गरेपछि दिउँसो तान्त्रिक बिधीद्धारा देवताको घरमा रहेका भैरबलाई रथमा ल्याएर बिराजमान गराई भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाईके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पुजा सकेर रथ तान्न सुरु गरिएको थियो ।

रथलाई तौमढीबाट माथि र तलका बासिन्दाले आ आफ्नौ क्षेत्रमा लैजान तान्ने गर्दछन् । रथ तान्ने क्रममा माथिका बासिन्दाले तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रय पु¥याइ फर्काउने र गःहिटी पु¥याएपछि पहिलो दिनको रथजात्रा विसर्जन गरिन्छ ।

तलका बासिन्दाले रथ तानेर लान सकेमा गःहिटीबाट नासमना, बंशगोपालसम्म लैजाने र फर्काएर पुन ः गःहिटीमा ल्याएर राख्ने परम्परा रहेको छ । माथि र तलको बासिन्दाले रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने र हिंसा बढ्न सक्ने भएपछि सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि १ हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

हिंसात्मक घट्ना हुन नदिन र निगदानी गर्न जात्रा स्थल लगायतका क्षेत्रमा २४ वटा सिसि क्यामरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । त्यसैगरि हिंसात्मक घट्ना वा रथ तान्दा हुने दूर्घटनामा घाईते भएमा तत्कालै उद्धार एवं उपचारका लागि उद्धार टोली र भक्तपुरमा २४ सैं घण्टाको विशेष उपचार टोली खटाएको उहाँले जानकारी दिनुभयो ।