बालुवाले छोपेर गोलिया तस्करी


नेपाल समाचारपत्र
रौतहट

रौतहटको दक्षिणी भेगको राष्ट्रिय वनबाट सालको गोलिया काठ तस्करी हुने क्रम बढ्दो रहेको छ। वन गस्तीको निस्क्रियता एवं वन कर्मचारीको मिलोमतोमा राष्ट्रिय वनबाट सालका गोलिया काठ तस्करी हँुदै आएको छ। जिल्ला वन कार्यालय रौतहटअन्तर्गतको चोचा सेक्टर वन कार्यालयमा पर्ने वनमा पछिल्लो दिनमा तस्करी बढेको आरोप स्थानीयको रहेको छ।

यस्तै तस्करी भएकै क्रममा वृन्दावन गाउँपालिकामा पर्ने बहुअरीस्थित शुभलक्ष्मी चिरान मिलबाट प्रहरीले साढे ३ लाख पर्ने ४५ क्युफिट गोलिया काठ बरामद गरेको छ।

चोचा सेक्टर वन कार्यालय हुँदै टेक्टरमा लोड गरी लैजाँदै गरेको दुई थान गोलिया काठ प्रहरीले बरामद गर्नुअघि तस्करले टेलर छुटाएर इन्जिन लिएर फरार भएका छन्। उक्त तस्करीमा शुभलक्ष्मी चिरान मिलका सञ्चालक संलग्न रहेको प्रहरीले जनाएको छ। बालुवाले छोपेर ल्याएको काँचो सालको गोलिया काठ टेलरसहित प्रहरीले बरामद गरेको हो। विगत लामो समयदेखि अवैध गोलिया काठको कारोबार उक्त चिरान मिलमा हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाइएको छ।

सो मिलमा पटकपटक अवैध काठ बरामद हुने गरेको भए पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन्।