शहीद परिवारले गृहमन्त्रीलाई वहिस्कार गरे


राजविराज, (नेस)
शहीद घोषणा, दोषीमाथि कारवाहीलगायतका माग पूरा नभएको कारण देखाउँदै सप्तरीको मलेठ घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनाका परिवारले गृहमन्त्री विमलेन्द्र निधिको हातबाट राहत रकम लिन अस्वीकार गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले दिएको जानकारीअनुसार गृहमन्त्री निधिको उपस्थितिमा शनिबार प्रत्येक मृतकका परिवारलाई १० लाखका दरले राहत रकम दिने कार्यक्रम थियो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले राहत रकम वितरण गर्ने वातावरण मिलाइ दिन आफूहरूलाई आग्रह गरेको जानकारी दिँदै साहले भने–हामीले यस बारे मृतकका परिवारजनसित शुक्रबारै छलफल गरेका थियौ, उहाँहरू यथास्थितिमा राहत लिन तयार हुनुभएन।’

गत फागुन २३ गते मलेठ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मधेसी मोर्चाको प्रहरीसित झडप भएको थियो। झडपका क्रममा प्रहरीको गोली लागि मलेठ–२ का २६ वर्षीय सञ्जन मेहता, ३७ वर्षीय वीरेन्द्र महतो, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टे·रीका ३८ वर्षीय आनन्दकुमार साह र जमुनी मधेपुरा–१ कटवीका ५७ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको थियो।

मृतकहरूलाई शहीद घोषणा र परिवारजनलाई क्षतिपूर्ति,१५ दिनभित्र घटनाको छानविनका लागि न्याययिक आयोग गठन गरी दोषीमाथि कारवाही हुनुपर्ने लगायतका कुरामा प्रशासनसित समझदारी भएपछि मृतकका परिवारजनले शव बुझेका थिए।तर, ती कुनै पनि माग पूरा भएका छैनन्’ केन्द्रीय सदस्य साहले भने–परिवारजनले पनि यथास्थितिमा रकम बुझ्न मानेका छैनन्, मधेसी मोर्चाको पनि यसमा सहमति छैन।’

प्रमुख जिल्ला अधिकारी कटवालले पनि विशेष कारणवश गृहमन्त्रीको सप्तरीमा निर्धारित शनिबारको कार्यक्रम स्थगित भएको जानकारी दिए।