स्वीडेनमा लरी आक्रमण


स्टकहोम, (एजेन्सी)

स्वीडेनको राजधानी स्टकहोमको मध्यभागमा रहेको एउटा स्टोरमा शुक्रबार एउटा लरी ठोकाइँदा कम्तिमा दुईजना व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ। सो शहरमा बटुवाहरूको निकै घुँइचो रहने ड्रोटनिन्गाटन (क्विन स्ट्रिट) मा भएको सो घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको बताइएको छ।

स्विडेनी प्रधानमन्त्री स्टेफन लोफ्भनेले सम्पूर्ण कोणबाट यो आतंककारी आक्रमण नै देखिएको तथा यसै सिलसिलामा एक व्यक्तिलाई पक्राउ गरिएको बताएका छन्। उनले अन्य विस्तृत विवरण खुलाएको छैन। उक्त लरीको स्वमित्व रहेको एउटा व्यापारिक कम्पनीले एक दिनअघि लरी अपहरणमा परेको बताएको छ।

स्थानीय समयअनुसार अपरान्ह तीन बजेतिर आह्लेन्स डिपार्टमेन्ट स्टोरमा उक्त लरी ठोकाइएको हो। स्वीडेनी ब्रअरी स्पेन्ड्रप्सले अघिल्लो दिन एउटा रेस्टुरेन्टमा सामान पुर्याउन गइरहेको बेला लरी अपहरण गरिएको बताएको छ। स्वीडेनका लागि बीबीसीका सुरक्षा संवाददाता फ्रान्क गार्डनरले विभिन्न सुरक्षा सूत्रहरूलाई उद्धृत गर्दै सो शहरको अर्को भागमा पनि गोली चलेको सुनिएको बताएका छन्।

ती दुवै घटना आसपासमा सरोकार रहेका हुन् कि हैनन् भन्ने बुझिएको छैन। प्रत्यक्षदर्शीहरूले सो लरी आह्लेन्सको अग्रभागको झ्यालबाट छिरेको बताएका छन्। प्रत्यक्षदर्शी लेइफ आर्नमरले स्वीडेनी राष्ट्रिय प्रशारणकर्ता एसभिटीलाई त्यहाँ उपस्थित सबै स्तब्ध भएको बताएका छन्।

यसअघि फ्रान्स र जर्मनीमा पनि भएका यसै प्रकारका लरी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको थियो। प्रहरीले घटनास्थल वरपरको क्षेत्र खाली गर्न स्थानीय वासिन्दालाई आह्वान गरेका छन्। यसैबीच यस आक्रमणको जिम्मा कसैले लिएको छैन।