आज पोखरामा नेपथ्यको कन्सर्ट

0
Shares

गत वर्ष काठमाडौंमा संगीतप्रेमीमाझ मे महिनामा आयोजना भएको कोकाकोला नेपथ्य लाइभ इन कन्सर्टको मनमोहक संगीतिक प्रस्तुतिपछि ब्यान्डले यो वर्ष पोखराका संगीतप्रेमीलाई सांगीतिक मनोरञ्जन प्रदान गर्ने भएको छ। नेपथ्यले आज शनिबार पोखरा रंगशालामा लाइभ प्रस्तुति दिन लागेको हो।

कन्सर्टमा नेपथ्यले आफ्ना लोकप्रिय नयाँ तथा पुराना गीतहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ। ब्याडवागन बाई पोजिटिभ भाइब्सले आयोजना तथा व्यवस्थापन गर्ने कार्यक्रममा उठेको रकमबाट श्री मनिला गौरीशंकर उच्च मावि, लवाङ घलेल तथा श्री भूमेश्वर उच्च माध्यमिक विद्यालय, सल्यानको पूर्वाधार विकास तथा अति विपन्न विद्यार्थीको शिक्षाका लागि खर्च गरिने जनाइएको छ।

कोकाकोला कम्पनीले कोकाकोला फेरि उठ्नेछ नेपाल अभियानअन्तर्गत यो कन्सर्ट प्रस्तुत गर्न लागेको हो। सन् २०१५ मा शुरू भएको अभियानलाई निरन्तरता दिन कन्सर्ट गरिन लागेको कम्पनीले जनाएको छ।

‘कोकाकोला र संगीतबीचको सहकार्य नयाँ होइन र यो कार्यक्रमको हिस्सा बन्न पाउँदा हामी निकै हर्षित भएका छौं, जसले नेपालका नागरिकलाई एकताबद्ध बनाउँदै सच्चा संगीतिक कार्यको साथमा राष्ट्र पुनर्निर्माणमा लाग्न अभिप्रेरित गर्दछ’ –ºबोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने।

नेपाली सांगीतिक आकाशमा एकसाथ चर्चा र सामाजिक पहिचान प्राप्त गरेको नेपथ्य ब्यान्डले २१ वर्षीय इतिहासमा आफूलाई एउटा ट्रेन सेटरका रूपमा स्थापित गरिसकेको छ। लोकसंगीतलाई पप र रकसँग संयोजन गरेर युवा जमातमाझ लोकप्रिय बनाउने कामको शुरुआत नेपथ्य ब्यान्डले नै गरेको हो। सन् १९९० मा दीपक राना (हाल चपर पाइलट) भीम पुन (हाल हङकङमा स्थापित) र अमृत गुरु मिलेर शुरुआत गरेको नेपथ्य ब्यान्डले नेपालका धेरै संगीतकारलाई मञ्च प्रदान गर्दै आएको छ।

हालसम्म २१ जना सदस्य यसको हिस्सा भइसकेका छन् तर नेपथ्य ब्यान्ड र यसको चर्चा प्रतिभाशाली संगीतकारका लागि सफलताको सिँढी बनेको छ। ८ एल्बम निकालिसकेको नेपथ्यले ९० को दशकको शुरुआतमा छेक्यो छेक्योदेखि ९० को मध्यतिरको जोमसोमै बजार, २००१ को रेशम र २००३ को भेडाको ऊनजस्तोसम्म आइपुग्दा बजारमा आफ्नो वर्चश्व कायम गरेको छ।