दुई चरणको निर्वाचनबारे सोच्न सकिने


विराटनगर, २५ चैत । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताउनुभएको छ ।
पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भन्नुभयो, “राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन् ।”

उपप्रधानमन्त्री निधिले सरकार र मधेसी मोर्चाबीच वार्ता भइरहेको र दुई चरणमा निर्वाचन भएमा मोर्चा निर्वाचनमा भाग लिने विषयमा सहमत भएकाले सो सम्बन्धमा पनि सोच्न सकिन्छ भन्नुभयो ।

उहाँका अनुसार पाँच विकास क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठीको आयोजना गरिने छ । मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारीलगायत सुरक्षाका विषय तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनेबारे गोष्ठीमा छलफल भएको बताइएको छ ।

सरकारका उपप्रधानमन्त्रीको वरियताका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले प्रधानमन्त्री र नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले छलफल गरेर टुङ्गो लगाउने जानकारी दिनुभयो । रासस