चुनाव गराए हतियार उठाउने धम्की


लक्ष्मी कुमार साह, महोत्तरी ।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले चुनावको लागि संशोधन आवश्यक भएको बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा तमलोपा जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशमा कुनै पनि हालतमा निर्वाचन नहुने बताएका हुन ।
अध्यक्ष ठाकुरले मधेश र मधेशी जनताको भावना विपरित चुनाव गराए आफुहरु हतियार उठाउन सक्ने संकेत दिएका छन ।

संविधान संशोधन विना कुनै पनि तिथि मितिमा तोकिएको निर्वाचनमा भाग नलिने अडान राख्नुहुदै उनले आफुहरु वैशाखको दोश्रो सातासम्म कुर्ने र त्यस्तो कुनै प्रतिक्रिया नआए आफुहरु सशक्त आन्दोलन गरी चुनाव हुन नदिने दावी समेत गरे ।
ठाकुरले मधेशमा सशक्त पार्टी बनाउनको लागि आफू अन्य पार्टीसंग एकिकरणको प्रयास भइरहेको बताउदै चाँडै नै सकारात्मक समाचार आउन सक्ने संकेत गरे ।