सुतली बम सहित दश क्वीन्टल बिस्फोटक पदार्थ निष्क्रिय


नेपाल समाचारपत्र, बैतडी ।

नेपाली सेनाको शत्रुमर्दन गुल्मले बैतडीमा सुतली बम सहित दश क्वीन्टल बिस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।

निष्क्रिय पारेको बिष्फोटक पदार्थमा ४० वटा सुतली बम , नेपोलाईट १० क्वीन्टल र सेफ्टी फ्युज १० हजार मिटर रहेको बताईएको छ ।

सशस्त्र द्वन्द्वका बेला बैतडी दार्चुला सडक निर्माण गर्ने ठेकेदार कम्पनीले सुरक्षाका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त विष्फोटक पदार्थ निष्क्रिय पारिएकोे प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

बैतडी सदरमुकाम गढीमा रहेको जिल्ला प्रहरी कार्यालय र शत्रुमर्दन गुल्मको बिच भागमा रहेको प्रसिद्घ जगन्नाथ मन्दिरको खानेपानी नजीक भेट्टिएको उक्त विष्फोटक पदार्थ द्वन्द्वका बेला सडक कार्यालयले सुरक्षा लागी प्रहरीलाई बुझाउन दिईएको भनिएपनि पुष्टि भने नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

शत्रुमर्दन गुल्म बैतडीको बम डिस्पोजल टोलीले दशरथ चन्द नगरपालिका २ कठपतेको जंगलमा शुक्रवार उक्त बिष्फोटक पदार्थ निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तत्कालिन विद्राही समुह माओवादीले चलाएको १० वर्षे द्वन्द्वका बेला बढी प्रभावित भएको बैतडीमा ध्वस्त पारेका भौतिक संरचनाहरु पुननिर्माण हुन सकेका छैनन् ।