झगडालुलाई दौतरी बनाउँदै मेलमिलाप केन्द्र


मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।

साविक पनौती १२ खोपासी घर भएकी शान्ति महत र मैना नगरकोटी मन मिल्दासम्म एउटै थालमा खाना खाने गरेका दौतरी थिए । मैनाले पारिवारीक समस्या भएकाले सहकारीबाट ऋण लिन शान्तिलाई साक्षी राखेकी थिईन् । श्रीमान बाहिर भएकाले समयमै ऋण तिर्न नसकेपछि सहकारीले शान्तिको खातामा जम्मा गरेको रकम समेत निकालेर मैनाको ऋण चुक्ता गरेपछि उनीहरु बीचको दौतरी कटुतामा परिणत भयो ।
दैनीक गाँस काटेर जम्मा गरेको रकम मैनाको ऋणको साक्षी बसे बापत सहकारीले निकालिदिएपछि शान्तिले मैनालाई तत्काल रकम फिर्ता गर्न अनुरोध गरिन् । मैनाले आफुसँग नभएको श्रीमान बाहिरबाट फर्किएपछि तिर्नु बताउँदा पनि सहकारीले मानेन । शान्तिकै खाताबाट रकम निकालेपछि शुरु भएको बेमेल एक अर्कालाई आरोप प्रत्यारोप, गालीगलौज र बोलचाली नै बन्द हुने अवस्थामा पुग्यो ।

शान्तिलाई पनि घरबाट आफुले जम्मा गरेको रकम मैनाले फिर्ता नगरेको र साक्षी बसेको भन्दै कचकच भईरहेको थियो । मैनाले रकम फिर्ता नगरेपछि शान्ति निवेदन लिएर प्रहरी चौकीमा जानै लाग्दा पनौती नगरपालिकामा रहेको सामुदायिक मेलमिलाप केन्द्रमा पुगिन् ।

शान्तिले दिएको निवेदन अनुसार मेलमिलाप केन्द्रले दुबै पक्षलाई बोलाएर छलफल गरायो । अन्ततः मैनाले केहि महिनाको भाखा राख्दै शान्तिको रकम फिर्ता गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । निरन्तरको संवाद पछि शान्ति र मैनाको सम्वन्ध पहिलाकै अवस्थामा पुग्यो । मैनाले पनि रकम फिर्ता गरिन् ।