प्रशासनलाई टेरेनन हतियार बोक्नेले


नेपाल समाचारपत्र, बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले निर्वाचनलाई लक्षित गरेर हतियार बुझाउन गरेको आग्रहलाई हतियारधनीले अटेर गरेका छन् ।

नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन निकालिएको सूचनाको अवधिमा ‘सीमित व्यक्तिले मात्रै हतियार बुझाएको’ प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नविकरण गरिएका त्यस्ता हतियार निर्वाचनका क्रममा प्रयोग हुन सक्ने आशंका गरेर सरकारले केही दिनका लागि खिच्ने रणनीति बनाएको थियो ।

बाँकेमा आठ सय हाराहारीमा हतियार राखिएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेका कर्मचारी रामचन्द्र श्रेष्ठका अनुसार, पाँच सय ३४ बाह्रबोर, पेस्तोल र अढाई सय आसपासमा भरुवा बन्दुक दर्ता गरिएका छन् । बन्दुक दर्ता र नविकरण जुनसुकै जिल्लामा गर्न सकिन्छ । बाँकेमा बन्दुक दर्ता धेरै र नविकरण कम हुँदै आएको छ ।

बैशाख ३१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित सञ्चालन गर्नका लागि निर्वाचन अवधिभर कानून बमोजिम राखिएका हतियारहरु प्रहरीको अधिनमा राख्नु पर्ने भएकाले चैत्र २४ गतेभित्र हतियार नजिकको प्रहरी इकाईमा बुझाउन जिल्ला प्रशासन कार्यालयले चैत्र दोस्रो साता सूचना प्रकाशित गरेको थियो । त्यो अवधिमा धेरैले हतियार बुझाएनन् । प्रजिअ पन्थले पनि पर्याप्त हतियार आइनपुगेको बताउनुभयो ।

घरघरमा भएका हतियार नबुझाएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार फेरि सूचना निकालेको छ । बैशाख ५ गते हतियार नजिकको प्रहरी इकाईमा नबुझाए कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।