आत्महत्याको थलो बन्दै बागेश्वरी मन्दिरको पोखरी


नेपाल समाचारपत्र, बाँके ।

नेपालगञ्जको बेलासपुर निवासी दीपक चिडीमारले बागेश्वरी मन्दिरको पोखरीमा हामफालेर आत्महत्या गरे ।

३४ वर्षका चिडीमार मन्दिर परिसरमै मागेर जीवन धानिरहेका थिए । मागेर मदिरा खाने लतले गर्दा एक किलोमिटरको दुरीमा घर भएपनि उनी मन्दिर परिसरमै बस्थे । मदिराको झोकमा बिहीबार राती दीपकले पोखरीमा हामफालेर आत्महत्या गरे ।
चिडीमार पोखरीमा हामफालेको हल्ला हुने वित्तिकै उनलाई खोज्न टोली पुगेको थियो । १५ मिनेटमा भेटिएका चिडीमार मरिसकेका थिए ।

बागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा हामफालेर आत्महत्या गर्ने चिडीमार पहिलो भने होइनन् । त्यो पोखरीमा वर्षमा २÷३ जनाले आत्महत्या गर्छन् । राम्रो पर्खाल नहुनु र मागेर गुजारा चलाउनेहरु अधिक मन्दिर परिसरमा बस्नुले आत्महत्या बढाएको छ ।

घरपरिवारबाट लखेटिएका, आफै निस्केर हिडेकाहरु मन्दिरको साहरामा आइपुग्छन् । मन्दिरमा दर्शन आउनेसँग हात थापेर गुजारा गर्ने अधिकांश मदिराको लतमा रहेका छन् ।
बागेश्वरी मन्दिर परिसरमा रहेको वर्षौ पुरानो पोखरी गहिरो पनि छ । त्यसमा सयौं वर्षका ठूल्ठूला कछुवा रहेको बताइन्छ । पोखरीमा पौडी खेल्न गएका कतिपयलाई कछुवाले दाबेर मारेको सम्बद्धहरु नै बताउँछन् । गहिरो पोखरी, तारबार राम्रो नहुने र चौकीदारसम्मको व्यवस्था नहुँदा जीवनदेखि निराश भएकाहरु त्यही हामफालेर आत्महत्या गर्ने गरेका छन् ।