त्रिशूली (नुवाकोट), २३ चैत । उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु ठूलो परिवर्तन भएकाले कार्यालय स्थापना गरेर कार्य सम्पादन हुनका लागि केही समय लाग्ने बताउनुभएको छ ।
आज विदुरमा जिल्ला समन्वय समितिको कार्यालयको अवलोकन तथा कर्मचारीलाई निर्देशन दिने क्रममा उपप्रधानमन्त्री थापाले सबै स्थानीय तह, प्रदेश र केन्द्र गरी संविधानले तीनवटा सरकारको परिकल्पना गरेअनुसार पहिलो चरणको स्थानीय तह कार्यान्वयनमा आएकाले यो उपलब्धीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
उहाँले संविधानप्रदत्त स्वायत्त रहने स्थानीय सरकार स्थानीय तहबाट कार्यसम्पादनमा जटिलता उत्पन्न हुने भए पनि सबैको सहयोगमा काम सुरु गर्न जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका समन्वय अधिकारी केशरबहादुर पण्डितले हाल नुवाकोटमा भइरहेको समग्र वस्तु स्थितिबारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले भौगोलिक विकटता, जनशक्ति अभावलगायत कारणले भूकम्पपछिको पुनःनिर्माणमा दोस्रो किस्ताको रकम वितरणमा सुस्तता भएको र नीतिगत अस्पष्टताको बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नुवाकोटका १२ वटै स्थानीय तहका कार्यकारी अधिकृत, वडा सचिवलगायतको सहभागिता रहेको थियो । रासस
प्रतिक्रिया