काठमाडौँ, २३ चैत । रामनवमीका अवसरमा आज बिहानैदेखि देशभरका राममन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्ने भक्तजनको भीड लागेको छ ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ बजेदेखि खुला गरिएको थियो । भक्तजनलाई घाम र पानीले प्रभाव नपारोस् भनी मन्दिरको मूल प्रवेशद्वारदेखि नै पाल टाँगिएको श्रीरामचन्द्र मन्दिर जीणोद्वार तथा संबद्र्धन समितिका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
विसं १९२८ मा निर्माण भएको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण बनेको थियो । भूकम्पले धेरै सम्पदा भत्किएकाले सरकारको मात्र मुख ताकेर काम नहुने देखेपछि स्थानीयवासी एवम् देश विदेशमा रहेका भक्तजनबाट रु ४० लाख सहयोग जुटाएर जीर्णोद्वार गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव समेत रहनुभएका डा टन्डनले राससलाई जानकारी दिनुभयो ।
“मूल मन्दिर राजकीय गुम्बज शैलीमा र चार दिशामा रहेका चार गुम्बज पनि पुरानैशैलीमा मर्मत गरिएको छ, पुरातात्विक मान्यता अनुरुप नै सम्पदाको मर्मत सम्भार गरिएको छ, मर्मत सम्भारमा पहिलो पटक खाली ठाउँ भर्ने (ग्राउटिङ टेक्नोलोजी) अपनाइएको छ, नेपालका मन्दिरमा यो प्रविधि सुरु गरिएको यो पहिलो पटक हो”–उहाँले भन्नुभयो ।
भूकम्पले भत्किएका सांस्कृतिक सम्पदामा अन्यत्र पनि यो प्रविधिले मर्मत एवम् पुनःनिर्माण गर्न उपयोगी हुने समितिको भनाइ छ ।
विसं १९३३ देखि १९५१ सालसम्म यो मन्दिर क्षेत्रमा निर्माणकर्ता कमाण्डिङ कर्नेल सनकसिंह टन्डनले नौ वटा अन्य शिवालय पनि निर्माण गराउनुभएको थियो । उहाँले ३७५ रोपनी मन्दिरको नाममा गुठी जग्गाको व्यवस्था गरिदिए पनि त्यसको आम्दानी आउन छोडेपछि विसं २०४७ ताका मन्दिर बेवारिसे बन्यो ।
विसं २०४८ मा स्थानीयवासीको सक्रियतामा समिति गठन गरी मन्दिरलाई पुनःव्यवस्थित गरिएको स्थानीय श्यामसुन्दर गौतमले बताउनुभयो । मन्दिर परिसरमा राम, सीता, लक्ष्मण, भरत, शत्रुधनको पूर्ण कदको मूर्ति छ । त्यस पछाडिको लता मल्लिकामा लगाइएको स्वर्ण जलपले थप आकर्षण बढाएको छ । मन्दिरको मूल गर्भगृहमा ३२ वटा पुतलीको आकार कुँदिएकाले यस ठाउँको नाम नै बत्तीसपुतली रहन गएको हो ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको दसरथ र कौसल्यावतीको सुपुत्रका रुपमा जन्म भएको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ भइरहेको छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथै व्रतबसी रामगीता पाठ, अध्यात्म, बाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायणवाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रतबसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । रासस
प्रतिक्रिया